इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार लाग्नुपर्छ : नेता सिंह


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०७९ मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिका–१० लाखेचौरमा निर्माण भएको सामुदायिक सभा हलको आज उद्घाटन गर्दै उनले महँगीको मारमा परेका जनतालाई राहत दिलाउनका लागि सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने उनको भनाइ थियो । “इन्धनमा स्वचालित मूल्य कायम गरिएको छ, सोही अनुसार सरकार अगाडि बढ्नुपर्छ, उपभोक्तालाई मारमा पार्न हुँदैन”, उनले भने ।

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा नेपालमा मूल्य नघट्नु दुःखद् कुरा भएको उनको भनाइ थियो । सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने उनको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्री सिंहले काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपायको खोजी गर्नुपर्ने बताए । फोहरजस्तो संवेदनशील विषयमा राजनीतिकरण गर्न नहुने उनको भनाइ थियो । नेता सिंहले सरकारले गरेको कामले जनतालाई राहत महसुस हुनुपर्ने बताए ।

बागमती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको रु १४ लाख बजेटमा सामुदायिक सभाहल निर्माण गरिएको जानकारी दिए । उनले उक्त सामुदायिक सभाहलका लागि चालु आर्थिक वर्षमा थप रु २० लाख विनियोजन गरेको उल्लेख गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।