भलिबल खेलमा योगदान गर्नेलाई म्याग्दीमा सम्मान


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित




भलिबल खेलको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई जिल्ला भलिबल संघ म्याग्दीले एक कार्यक्रमबीच सम्मान गरेको छ ।

भलिबल संघ म्याग्दीले आफ्नो कार्यालय उद्घाटन एवं सम्मान कार्यक्रमको आयोजना गरेर सात जनालाई सम्मान गरेको हो ।

भलिबल खेल क्षेत्रमा योगदान पु¥याउँदै देशलाई पदक दिलाउन सफल राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही, भलिबल प्रशिक्षक एवं रेफ्री डीबी नेपाली, म्याग्दी जिल्लाका पूर्व कप्तान मुन्ना केसी, जिल्ला भलिबल संघको डेढ दशकसम्म अध्यक्ष रहेका निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठ, निवर्तमान सचिव विनय श्रेष्ठ, खेलकुद विकास समिति म्याग्दीका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्मा र पूर्व खेलाडी गंगा केसीलाई सम्मान गरिएको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले राष्ट्रिय खेलकुदका रुपमा रहेको भलिबलको माध्यमबाट राष्ट्रलाई स्वर्ण तथा रजत पदक दिलाउन सफल राष्ट्रिय भलिबल टिमका कप्तान अरुणा शाही, प्रमुख खेलाडी कमला पुन, पुरुष भलिबलतर्फ मिलन मल्ल, राजु शेचरन एवं पछिल्लो समयका सुजन चोखाल, पवित्रा विसी जस्ता प्रतिभाशाली खेलाडीहरु म्याग्दीमै जन्मेको उल्लेख गरे ।

म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा महिला भलिबल खेल म्याग्दीमा संचालन गर्न माग समेत राखे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।