स्याङ्जामा ज्वरो फैलिएसँगै कोरोनाको त्रास


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित




पछिल्लो समयमा स्याङ्जा जिल्लाभित्रका स्वास्थ्य केन्द्रदेखि अस्पतालहरूसम्म ज्वरोका बिरामीको चाप बढ्दै गएको छ ।

यहाँका सरकारी अस्पतालदेखि निजी अस्पताल र स्वास्थ्य केन्द्रमा ज्वरोका बिरामी बढेका छन् ।

सदरमुकामस्थित जिल्ला अस्पतालमा दैनिक आउने बिरामीमध्ये आधाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको अस्पतालका प्रमुख डा. रमेश आचार्यले बताए । अघिल्लो वर्षको तुलनामा ७० प्रतिशत ज्वरोका बिरामी बढेको बताउँदै डा .आचार्यले ज्वरोसँगै कोभिडका बिरामी पनि बढेको उल्लेख गरे ।

ज्वरोका बिरामी पछिल्लो एक हप्तामा बढ्न थालेका हुन् । अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढ्न थालेपछि १० बजे खुल्ने टिकट ९ बजे सारिएको छ । बिरामीको चाप जिल्ला अस्पतालजस्तै सदरमुकामको अशोक फर्मामा समेत बढेको बताइएको छ ।

पहिला बिरामीमध्ये एक÷दुई जना मात्र ज्वरोका आउने गरेकोमा अहिलो धेरै ज्वरोका आउने गरेको फर्मा सञ्चालक रंगनाथ रेग्मीले बताए । ज्वरोका लक्षण भएका बिरामीमा कोरोना पनि हुनसक्ने बताउँदै रेग्मीले सचेत भएर उपचार गर्ने गरेको बताए ।

चिकित्सकहरूले मौसमी ज्वरोसँगै कोरोना महामारीको खतराबाट जोगिन स्वास्थ्य सतर्कता अपनाउन, सरसफाइमा ध्यान दिन र उमालेर पानी पिउन सर्वसाधारणमा आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।