पोल्यान्डमा पाँच किलो हेरोइनसहित ८१ वर्षीया महिला पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित




पोल्यान्डस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडातर्फ प्रस्थान गर्न लागेकी एक ८१ वर्षीया महिलालाई पाँच किलो हेरोइनसहित पक्राउ गरिएको छ ।

बरामद गरिएको उक्त परिमाणको हेरोइनको मूल्य पाँच लाख १५ हजार अमेरिकी डलर पर्ने अधिकारीहरुले बताएका छन् ।

डेनमार्ककी नागरिक ती महिलाको संदिग्ध गतिविधि देखेपछि भन्सारका कर्मचारीले उनका सामान खानतलासी गर्दा उक्त परिमाणको प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो । बरामद गरिएको लागुऔषध फल्स बटन बनाएर तस्करीको प्रयास गरिएको थियो ।

ती महिला मलावी र केन्या हुँदै दोहाबाट वार्सा आइपुगेकी हुन् । उनले कुनै पनि गलत काम नगरेको बताएकी छन् ।

पोल्यान्डको कानुनानुसार उनलाई तीन महिना थुनामा राखेर अनुसन्धान गरिनेछ । गैरकानुनी रूपमा प्रतिबन्धित लागुऔषध निजले राखेको प्रमाणित भएमा १५ वर्ष कारावासको सजाय भोग्नुपर्नेछ ।

यसैबीच, डेनमार्क सरकारले आफ्ना नगारिक लागुऔषधसहित पोल्यान्डमा पक्राउ परेको समाचारको पुष्टि गर्दै उनलाई वार्सास्थित आफ्नो देशको दूतावासले कन्सुलर सेवा प्रदान गरिरहेको जनाएको छ ।

रासस/एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।