नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित





काठमाडौँ । नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन ९भदौ १६ गते० सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्वर्गारोहणको १३ औँ दिन ९भदौ १६ गते० मा केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । नेता गिरी समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान् त्यागी एवम् बहुआयामिक व्यक्तित्व छन ।

उनको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो ।


सरल जीवनशैलीका गान्धीवादी नेता


पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट विसं २००४ असोज २४ गते गोवर्धन पूजाका दिन सिरहाको बस्तीपुरमा जन्मनुभएका गिरी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका छन ।

समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेता उनी थिए ।उनी राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रबिन्दुमा राख्थे ।

कांग्रेसलाई थप समावेशी र सबल बनाउन उनी हरदम क्रियाशील रहनुभएको कांग्रेसले जनाएको छ ।नेता गिरी नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहे ।

सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिनुभएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटकपटक जेल र निर्वासनमा रहे । उनी कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय थिए ।

दार्शनिक नेता प्रदीप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको बैठकको ठहर छ ।बैठकले उनीप्रति उच्च सम्मान प्रकट गर्दै यस दुःखद् घडीमा उनको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलीका साथ शोकाकूल परिवारजन एवं समस्त पार्टी सदस्यमा समवेदना प्रकट गरेको छ ।

दिवङ्गत नेता गिरीप्रति उच्च सम्मान र उहाँको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको बैठकमा दुई मिनेट मौन धारण गरिएको थियो ।कांग्रेसका नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको छ । तत्पश्चात् पशुपति आर्यघाटमा उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।