नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित




पोखरा । आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको सचिवालयको पोखरामा आज उद्घाटन गरिएको छ । पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले संयुक्तरुपमा रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि संघीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए । उनले प्रतियोगिता सम्पन्न गर्न तीनै तहको सरकारको साझा दायित्व रहेको बताए । उनले भने, ‘खेल सञ्चालनका लागि केन्द्र सरकारले आर्थिक व्यवस्था गर्ने हुँदा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले आर्थिक पाटोमा चिन्ता गर्न पर्दैन् , हामीले भावानात्मक हार्दिकता पोखराबाट पाप्त गर्नेछौं ।’
सचिवालयबाट नवौं राष्ट्रिय खेलकुद सम्बन्धी सम्पुर्ण तयारी सञ्चालन गरिनेपनि उनले बताए ।

खेलकुदमन्त्री गहतराजले प्रतियोगिताको लागि आवश्यक प्राविधिकहरुको यकिन गरेर करारमा खटाउने तयारी समेत रहेको बताए ।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो प्रदेशमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन कुनैपनि किसिमको कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै सचिवालय उदघाटन समारोहमा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रलाई एकताको सुत्रमा बाँध्ने नै खेलकुद क्षेत्र भएको उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबै कुरामा सबै हिसाबले साथ सहयोगमा रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा गर्न प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा संचालन गर्ने तयारी गरिएको छ । प्रस्तावित खेलस्थलमा पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुष स्पर्धाका खेल पोखरामा सञ्चालन हुनेछन् ।

यसैगरी जिमन्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषको खेल पोखरामा प्रस्ताव गरिएको छ । प्रदर्शनी खेल लोकदोहोरी पोखरामा गर्ने योजना छ ।

त्यस्तैगरि नेपाल खेलकुदपत्रकार मञ्च गण्डकीले व्यवस्थापन गरिरहेको रंगशालास्थित मिडिया सेन्टरको मन्त्री गहतराज, मुख्यमन्त्री पोखरेल, पोखरा महानगर प्रमुख आचार्य र राखेप सदस्य सचिव टंकलाल घिसिङले अवलोकन गरेका थिए ।
नवौँ राष्ट्रिय खेलकुद यहि असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।