मुक्ति समाज गण्डकी अध्यक्षमा निर्मल दियाली


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेश संगठन कमिटीको शनिबार भएको प्रथम सम्मेलनले निर्मल दियाली सुनारको नेतृत्वमा सर्वसम्मत रुपमा ८५ सदस्यीय कार्यसमिति चुनेको छ ।

सम्मेलनबाट प्रदेश कमिटी उपाध्यक्षमा नवलपुरका होमबहादुर विक र तनहुँकी डिना गोतामे, सचिवमा कास्कीका बमबहादुर विक र कोषाध्यक्षमा कास्कीकै कमला सुनार छन् । त्यस्तै उपसचिवमा पर्वतका बाबुराम सुनार र बागलुङकी रुपा विक छन् ।

कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले सबै जाति, लिंग, क्षेत्रलाई समेटेर देशको समृद्धि एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताइन् । उनले जनवर्गीय संगठनहरु पार्टीका पूर्वाधार भएको बताउँदै पूर्वाधार बलिया बनाइराख्न कार्यकर्तालाई निर्देशन दिइन् ।

‘जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशीपूर्ण प्रतिनिधित्वको संवैधानिक अग्राधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ भएको सम्मेलनमा नेकपा एमाले पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्मा, पूर्वमन्त्री जितु गौतम, पार्टीका केन्द्रीय सदस्यहरु कृष्ण थापा र सीता सुन्दास, मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्मा पौडेल, समाजका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश संयोजक धनबहादुर नेपाली, सहसंयोजक प्रेम विश्वकर्मा र बाबुराम विश्वकर्मा, अनेरास्ववियु गण्डकी अध्यक्ष प्रकाश पौडेल लगायतले बोलेका थिए ।

नवनिर्वाचित अध्यक्ष सुनारले पार्टीको मार्गदर्शनमा रहेर समतामूलक समाज निर्माणका लागि नयाँ कमिटी लाग्ने प्रतिवद्धता गरे । उनले भने, ‘संगठन सँगसँगै पार्टीलाई जनस्तरसम्म लैजान भूमिका खेल्छौं । प्रदेशका सबै जिल्लामा मजबुत संगठन बनाउँदै सबै प्रकारका विभेद अन्त्य गरी समातामूलक समाज निर्माणमा लाग्छौं ।’

निर्वाचित पदाधिकारी तथा सदस्यलाई मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विक पौडेलले पद तथा गोपनीयताको सपथ गराए । कार्यक्रम मुक्ति समाजका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश सम्मेलन कमिटी संयोजक धनबहादुर नेपालीको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।