प्रसिद्ध भैरवस्थानमा हरेलो मेला सुरु


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित





बलेवा । बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि पहिलो पटक आयोजना गरिएको हरेलो मेला आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा मेला सुरु भएको हो ।

भैरवस्थान मन्दिर पुनःनिर्माण तथा हरेलो मेला व्यवस्थापन उपभोक्ता समितिले मेलाको आयोजना गरेको हो । मेलाको मूल समारोह मङ्गलबार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

आज स्थानीय पञ्चेबाजा र भजनको विशेष प्रस्तुति रहेको हमालले बताए । तीज गीत प्रतियोगितासमेत आजदेखि नै सुरु हुने आयोजकले जनाएको छ । मेलामा भजन प्रस्तुति, पञ्चेबाजा प्रस्तुति, तीज गीत प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता र विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति रहने अध्यक्ष हमालले बताए ।

मेला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । भैरवस्थान मन्दिर हरेक मङ्गलबार र शनिबारमात्रै खुल्छ । बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन छ ।

खेतीपाती सकेपछि कीराफट्याङ्ग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैँयुपाटाका भवानीप्रसाद रिजालले बताए । यस पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

दसैँको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्मा बताउछन । बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलिसँगै नरिवल र फलफूल चढाउने चलन छ ।

कालभैरवमा बलि दिँदा घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले आउने गरेको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी नानु बुढाथोकीले बताए । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ ।

पशुबलि दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताए । कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र ५ नम्बर प्रदेशका गुल्मी, प्यूठान, अर्घाखाँची र काठमाडौँ तथा चितवनबाट दर्शनार्थी आउने गरेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।