पशुपतिनाथको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : पशुपतिनाथ मन्दिर परिसर ।


काठमाडौँ । पशुपति क्षेत्रका महत्वपूर्ण चीजबीजको सङ्ग्रह गरी पशुपतिनाथ मन्दिरअघिको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ गरिएको छ । सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्दै नेपालको इतिहास, संस्कृति र सम्पदालाई विश्वमा चिनाउन यसले सहयोग गर्ने बताए ।

नेपालमा पर्यटन प्रवद्र्धनका लागि संस्कृति र सम्पदाको संरक्षण गरिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले नेपाल इन्भेष्टमेन्ट बैंकको रु पाँच करोड सहयोगमा सङ्ग्रहालय निर्माण भएको जानकारी दिए ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त महास्नान घरलाई बैंकले प्रबलीकरण गरी सङ्ग्रहालय निर्माण गरेको हो ।
सङ्ग्रहालयमा दुई सय ६५ सामग्री राखिएको जानकारी पनि सदस्य सचिव थापाले दिए । विसं २०८० मा भ्रमण वर्षका रुपमा पशुपति दर्शन कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी पनि उनले दिए ।

मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले सङ्ग्रहालय निरन्तर सञ्चालनका लागि सरोकार भएका निकायका बीच सहकार्य हुनुपर्नेमा जोड दिए । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले सङ्ग्रहालय निर्माणसँगै विगत पाँच वर्ष अघिदेखि पशुपति क्षेत्रको सरसफाइमा पनि बैंकले सहयोग गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सङ्ग्रहालयको निर्माणमा लाग्नुभएका वास्तुविद् पद्मसुन्दर महर्जन, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतले पशुपति क्षेत्रको महत्व बढाउन सङ्ग्रहालय सफल हुने विश्वास व्यक्त गरे ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।