बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित




बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किबी लगाएका छन ।

पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उनी बताउछन । मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव छ । अहिले भकुण्डेमा थापासहित अन्य किसानले व्यावसायिकरुपमा किबी खेती गर्दै आएका छन् ।

पछिल्लो समय किबी खेती गर्ने किसानको सङ्ख्यामा बढ्दै गएको छ । काँटछाँट र उचित हेरचाह गर्नसके मनग्य आम्दानी गर्न सकिने किसान बताउँछन् । पर्यटकीय गाउँका रुपमा परिचित भकुण्डेको उपल्लो भागमा घरबास होमस्टे फस्टाउँदै गएको छ ।

सोही क्षेत्रमा किबीको सफल उत्पादन भइरहेको छ । पाहुनाले किबी रुचाउने गरेकाले बजारको समस्या नभएको अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताए ।

भकुण्डेमा फस्टाउन थालेको किबी खेतीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने बागलुङ–१० का वडाध्यक्ष तिलबहादुर थापा बताउछन । किबी प्रतिकिलो स्थानीय बजारमा रु तीन सयदेखि रु तीन सय ५० सम्ममा बिक्री हुन्छ । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु, रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्छ ।

बजारमा माग बढ्दै गएको बागलुङ नगरपालिकाका कृषि शाखाप्रमुख राहुल केसीले जानकारी दिए । किवी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा गर्न सकिन्छ । रोपेको तीन वर्षपछि किबीले उत्पादन दिन थाल्ने किसान बताउँछन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।