लमजुङका बाढीपहिरो पीडितले आगामी दसैँमा नयाँ घर पाउने भएका छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माणकार्य आगामी दसैँ अगावै सम्पन्न हुने भएकाले दसैँबाट नयाँ घरमा बस्न पाउने भएका हुन्
दुई वर्ष अघिदेखि विस्थापित यहाँका १८ घरपरिवार हालसम्म कोही आफन्तको सहारा र कोही त्रिपाल एवं जस्तापातामुनि कष्टकर जीवन बिताउँदै आएका छन् । गाउँपालिकाका अनुसार अर्खलेबेँसी र अर्खलेबेँसी पारि मस्र्याङ्दी गाउँपालिका– ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको छ ।
गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उक्त पीडितमध्ये लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा छ घर निर्माणाधीन छन् ।
त्यस्तै, एक घर बाहुनडाँडामा बन्ने चरणमा रहेको गाउँपालिकाले जनाएको छ । पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानान्तरणका लागि नयाँ घरमा निर्माण तीव्र गतिमा अघि बढिरहेको र दसैँमा नयाँ घरमा उनीहरु बस्न पाउने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।
प्रतिपरिवारका लागि रु सात लाखको लागतमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार यसमा सङ्घ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ । उक्त रकममध्ये जग्गा खरिदका लागि रु तीन लाख र घर बनाउन साढे चार लाख बजेटको व्यवस्था छ । विसं २०७७ मा अर्खले गाउँमा पहिरो आएपछि सिङ्गो गाउँ नै विस्थापित भएको थियो ।
सो पहिराले जोखिम बढाउँदै आएपछि विसं २०७५ मा घरमा नबस्न वडा कार्यालयले अनुरोधसमेत गरेको थियो । तर उनीहरुले पहिराको बेवास्ता गर्दै आएपछि विसं २०७७ मा गएको पहिराले गाउँ नै विस्थापित बनाएको थियो । घर नुहँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरुले यसपालिकाको दसैँमा नयाँ घर पाउने भएसँगै हर्षित भएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







