बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो ।
नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो । यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेखि गर्ने निर्णय भएसँगै जिल्लास्तरीय छनोट पनि अघि गर्न लागिएको जनाइएको छ ।
जिल्लास्तरीय पुरुष र महिला क्रिकेट छनोट प्रतियोगिता भदौ १० गते देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए । यसअघि भदौ १४ गते देहिमाडौँ खेलमैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन गर्ने मिति तय भएकामा परिवर्तन गरिएको हो ।
बैतडी जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीका अनुसार अन्य छनोट प्रतियोगिता भने साबिककै मितिअनुसार हुनेछन् । यही भदौ १० गते पहिलो दिन टेबल टेनिस महिला÷पुरुष, बुद्धिचाल भारत्तोलन पुरुष, कराते, तेक्वान्दो महिला÷पुरुष, छनोट सदरमुकाममा हुनेछ ।
भदौ ११ गते सदरमुकाममै ब्याडमिन्टन महिला÷पुरुष, उसु फुल कन्ट्याक्ट कराते महिला÷पुरुष, मेलौली खेल मैदानमा भलिबल महिला÷पुरुष छनोट भदौ १२ गते हुने जनाइएको छ । यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी महिला÷पुरुष, एथलेटिक्स महिला÷पुरुष, फुटबल, बक्सिङ पुरुष छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
दर्ता फारम नभरेका खेलाडीलाई छनोटमा सहभागी नगराइने र छनोट प्रतियोगितामा सहभागी नभएका खेलाडीलाई छनोट नगरिनेसमेत सूचनामार्फत जनाइएको छ । छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका तीन सय २९ खेलाडीले आवेदन भरेका छन् ।
जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







