म्यानमारमा बेलायती पूर्वराजदूत पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित




म्यानमारको सैनिक सरकार (जुन्टा)ले म्यानमारका लागि बेलायतकी पूर्वराजदूत विकी बोम्यान र उनका पतिलाई पक्राउ गरेको छ ।

बोम्यानविरुद्ध भिसाका नियम उल्लंघन गरेको र उनका पतिविरुद्ध उनलाई म्यानमारमा बस्न सहयोग गरेको आरोप लगाइएको छ ।

अदालतमा उनीहरूविरुद्धको आरोप प्रमाणित भए अधिकतम पाँच वर्ष लामो कारावास भोग्नुपर्ने हुन्छ ।

बोम्यानले सन् २००२ देखि २००६ सम्म म्यानमारमा राजदूतको पद सम्हालेकी थिइन् । उनले बर्मेली कलाकार तथा पूर्वराजनीतिक बन्दी तेइन लिनसँग विवाह गरेकी थिइन् ।

उनले यांगुनमा म्यानमार सेन्टर फर रेस्पोन्सिवल बिजिनेस सञ्चालन गर्दै आएकी छन् । उनीहरूले चलाउँदै आएको संस्थाले मानव अधिकारसँग सरोकार रहेका विषयमा पनि सहयोग प्रदान गर्दै आएको छ ।

यस जोडीलाई अहिले इन्सेइन कारागार चलान गरिएको छ ।

उनीहरुकोमुद्दाको सुनवाइ आगामी सेप्टेम्बर ६ मा हुने भएको छ ।

बेलायती दूतावासले उनीहरूलाई कन्सुलर सहयोग दिइरहेको जनाएको छ ।

म्यानमारको जुन्टा सरकारलाई व्यापक रूपमा मानव अधिकार उल्लंघन गर्ने गरेको आरोप लगाइने गरेको छ ।

यसै महिनाको सुरुमा मात्र जुन्टाले मुलुकमा अझै आन्तरिक द्वन्द्व जारी रहेको कारण देखाउँदै आपत्कालीन शासन सन् २०२३ सम्मका लागि लम्ब्याएको थियो ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।