पीएन क्याम्पसका पहिलो स्ववियु सभापति पुष्पकमल


     झपट रानाभाट    
     भाद्र १० गते २०७९ मा प्रकाशित




पुष्पकमल सुवेदी कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनमा पहिलो पुस्ताको बीचतिरका गौरव गर्न लायक श्रद्दाका प्रतीक हुन् ।

उनमा भएको कम्युनिस्ट क्रान्तिकारी बिचार,सिद्धान्त र ब्यवहारको तालमेल जो कोही कम्युनिस्ट पार्टीका सदस्य, नेता र कार्यकर्ताले देखासिकी गर्नुपर्दछ र कम्युनिस्ट पार्टीमा संगीन परिस्थितिमा लागेकै कारण, नेतृत्व गरेकै कारण प्रताडित र बिक्षिप्त उनको परिवार, उनकी सहधर्मिनी र परिवारको सम्मान र अभिनन्दन गर्नु अपरिहार्य छ ।

पृथ्वीनारायण बहुमुखी क्याम्पसका पहिलो स्वबियु सभापति, तत्कालीन बेलामा गण्डकी –धौलागिरी क्रान्तिकारी माले कोअर्डिनेशन कमिटीका एक संस्थापक (संयोजक जयप्रकाश बास्तोला, हेम्जा, आरसी अधिकारी, गोपालनन्दन गिरी, सोमनाथ प्यासी ) कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनका अगुवा नेता कमरेड पुष्पकमल सुबेदी नेपाली कम्युनिस्ट आन्दोलन र नेपालको गण्डकी र धौलागिरी क्षेत्रमा त्याग, बलिदान , ईमान्दारिता र समर्पणको उच्च नमूना भएको कम्युनिस्ट नेता थिए ।

क. पुष्पकमल सुवेदी आफू र पारिवारिक स्वार्थबाट पृथक थिए । कम्युनिस्ट पार्टीको बिस्तार र फैलावटका लागि सारा उर्जाशील जीवन–जवानी कुर्वानी गरे उनले। उनी कास्कीको मादी क्षेत्रमा अध्यापनरत हुँदा धेरै दीन–दु:खीको सेवा गरे ।

वर्गबिहीन र समानतामूलक समाज निर्माणमा ठूलो योगदान गरे । त्यस क्षेत्रमा बेमेल परिवार र एक–अर्कालाई मिलाउने, शिक्षा दिने काम गर्थे उनले। त्यहाँ कापी, कलम, किताब किन्न नसक्ने बिद्यार्थीहरुका लागि आफ्नो तलबबाट आवश्यक शैक्षिक सामग्रीको जोहो गरिदिने, लगाउने लुगाफाटोको ब्यवस्था गरिदिने, बिमारी हुँदा औषधिमूलो र चाडपर्व मनाइदिने गर्दथे क. पुष्पकमलले । ब्यक्तिगत र पारिवारिक स्वार्थ शून्य भएका उनी आफ्नो घर हंशपुर फर्कदा त घरपरिवारका लागि सूको हुदैनथ्यो उनीसित, सबै बाडेरै सक्थे उनले।

यतिमात्र हैन, क.पुष्पकमल सुबेदीको कुशल नेतृत्वमा बनारसको छात्र संघको चुनावमा समेत बामपंथीहरुले जितेको पाइन्छ र कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनको बिकास र संगठन निर्माणमा अतुलनीय र बिशिस्ट योगदान दिएका उनीप्रति उनको ४० औं स्मृति दिवसका सन्दर्भमा हार्दिक सम्मान र रातो सलाम व्यक्त गर्न चाहन्छु । उनको सहधर्मिनी लगायत सबै परिवारप्रति उच्च सम्मान प्रकट गर्दै जीवन पर्यन्त सामाजिक परिवर्तन र जनताको मुक्तिकामी आन्दोलनमा निरन्तर लाग्ने प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।