काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चायतकालको कठिन अवस्थामा लोकतान्त्रिक मूल्यमान्यताका लागि योगदान गर्नेको भूमिकाको सम्मान गरिने बताए । प्रजातान्त्रिक विचार समाजले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि पत्रकारिताका माध्यमबाट होमनाथ दाहाल र राजनीतिक परिवर्तनका लागि जनजागरणका माध्यमबाट कमल चित्रकारले गरेको योगदान अविस्मरणीय रहेको बताए ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकासमा योगदान गर्ने विश्वास पनि उनले व्यक्त गरे । जनता लोकतन्त्र रक्षाका लागि जुट्ने प्रधानमन्त्री देउवाको विश्वास छ । सम्मानित व्यक्तित्व दाहालले नेपालको लोकतन्त्र तलाउ र कुवाको बीचमा रहेको चर्चा गर्नुहुँदै आगामी निर्वाचनबाट लोकतन्त्रको उद्धारका लागि देउवा नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
समाज लोकतान्त्रिक मूल्यमान्यताकै रक्षाका लागि खडा भएकाले यसको दायित्व वर्तमान परिस्थितिमा अझ बढेको उनले सुनाए । पूर्वमन्त्री एवं नेपाली कांगे्रसका नेता डा सुरेश मल्लले प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गर्न खोज्ने प्रवृत्तिका विरुद्ध आवाज उठाउनकै निम्ति समाजको स्थापना भएको स्मरण गरे ।
प्रजातन्त्रको रक्षा र सम्वद्र्धनका लागि समाजको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पत्रकारिताका माध्यमबाट दाहाल र राजनीतिका माध्यमबाट चित्रकारले प्रजातन्त्र पुनःस्थापनाका लागि गरेको योगदान भावी पुस्ताले पनि सम्झने बताए ।
लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन कठिन दिनमा योगदान गर्ने दाहाल र चित्रकारजस्ता सयौँ योद्धाको अभिलेख कांग्रेसले राख्नुपर्ने उनको माग थियो । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले लोकतन्त्रमाथिको हस्तक्षेप रोक्न बुद्धिजीवी वर्गको संस्थाका रुपमा समाजको स्थापना भएको स्मरण गर्नुहुँदै हाल ७२ जिल्लामा यसको जिल्ला शाखा क्रियाशील रहेको जानकारी गराए ।
विसं २०५२ मा स्थापना भएको समाजको भदौ २४ गते विराटनगरमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारीसमेत उनले गराए । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले लोकतान्त्रिक मूल्यमान्यताका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले चाल्नुहुने हरेक कदममा संस्थाले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
चित्रकार नेपाल तरुण दलका संस्थापक महासचिवका साथै विसं २०१४ को भद्र अवज्ञा आन्दोलनदेखिका हरेक राजनीतिक परिवर्तनमा सक्रिय रहँदै आएका छन । हाल स्वास्थ्य अवस्थाका कारण उहाँ सम्मान कार्यक्रममा उपस्थित हुन सकेनन् ।
उनको सम्मान श्रीमती गङ्गा चित्रकारले ग्रहण गरेका थिए । प्रजातन्त्र पुनःस्थापनाका लागि पटकपटक गरी चित्रकारले छ वर्षसम्म जेल जीवन बिताएका छन । चित्रकारले पु¥याउनुभएको यही योगदानको कदर गर्दै ताम्रपत्र, दोसल्ला र रु २५ हजार राशिसहित उनलाई सम्मान गरिएको थियो । चित्रकारलाई समाजले विसं २०७८ को पुरस्कार प्रदान गरेको हो ।
गत वर्ष कोरोना महामारीका कारण पुरस्कार प्रदान गर्न नसकिएको जनाइएको छ । यसैगरी वरिष्ठ पत्रकार होमनाथ दाहाललाई विसं २०७९ को सम्मान प्रदान गरिएको हो । पत्रकारिताका माध्यमबाट लोकतान्त्रिक आन्दोलन एवं नेपाली भाषा, साहित्यको सम्वद्र्धनका लागि गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
पञ्चायतकालमा दमित आवाजलाई पत्रकारिताका माध्यमबाट बाहिर ल्याउन दाहालले महत्वपूर्ण भूमिका निर्वाह गरेका कार्यक्रममा जानकारी गराइएको थियो ।
दाहाललाई पनि ताम्रपत्र, दोसल्ला र रु २५ हजार राशिसहित सम्मानित गरिएको थियो । दुवैजनाले पु¥याउनुभएको योगदानका बारेमा समाजका उपाध्यक्ष ईश्वरीराज लौडारी, महासचिव गोकर्ण अर्याल र सचिव वासुदेव भण्डारीले चर्चा गरेका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





