कास्कीका भूमिहीन दलित र सुकुमबासीलाई निस्सा दिन सुरू


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकामा उन्नाइस हजार ६ सय ३४ जना भूमिहीन सुकुमबासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमीन प्राप्तिका लागि आवेदन दिएका छन् ।

यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पुर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण शुरुआत गरेको छ ।

आयोगले पोखराका भूमिहीन दलित र भूमिहीन सुकुमबासीले दिएको निवेदनका आधारमा आवश्यक प्रक्रियापछि मंगलवारदेखि पोखरा–२५ बाट सुरुआत गरेको हो । सो वडामा दुई सय ४२ दलित र सुकुमबासीलाई निस्सा प्रदान गरिएको छ ।

भूमिहीनहरूको समस्या समाधानका लागि सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगका अनुसार पोखरा महानगरपालिकामा भूमिहीनको लगत संकलनको काम सकिएर निस्सा वितरण सुरू गरेको आयोगका जिल्ला अध्यक्ष गंगाप्रसाद पोखरेलले बताए ।

उनका अनुसार जिल्लाका अन्य पालिकामा भने राष्ट्रिय भूमि आयोगसँग सम्झौतापछि लगत संकलनका लागि आवेदन दर्ताको काम भइरहेको छ । भूमि आयोगका अनुसार महानगरपालिकामा भूमिहीन दलित तीन हजार पाँच सय ५३, भूमिहीन सुकुमबासी चार हजार एक सय ८३ र अव्यवस्थित बसोबासी ११ हजार आठ सय ९८ परिवारको निवेदन दर्ता भएको छ ।

महानगरले भूमि आयोग केन्द्रसँग समझदारीमा हस्ताक्षरपछि ३५ दिने सूचना निकालेको थियो । पछिल्लो सूचनाअनुसार तीन हजार भूमिहीन र अव्यवस्थित बसोबासीको लगत संकलन भएको थियो । आयोगका अध्यक्ष पोखरेलले भूमि आयोगसँग सम्झौतापछि अहिले माछापुच्छे«, मादी र रूपा गाउँपालिकामा भूमिहीनको लगत संकलनको काम आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।

उनले भने, ‘आयोगको जिल्ला कार्यालयले पछि सम्झौता भएका पालिकामा भूमिहीन र अव्यवस्थित बसोवासीको लगत संकलन गरिरहेको छ, यसअघिका पुराना अधुरोअन्तर्गतका लागि सरजिमन मुचुल्का, फिल्डबुक र सेता पुर्जाका आधारमा जग्गाधनी पुर्जा दिने तयारी भइरहको छ ।’

पुराना अधुरो अपूराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको वडा नं १ र २ वडा तथा पोखराका वडा नं १४, १७, १९, २७ ,२८ र ३१ मा सरजिमन मुचुल्का गर्ने काम सकिएको छ । अधुरोअन्तर्गतका दुई सय घरधुरीलाई यही भदौ १३ गते रातो पुर्जा दिने तयारी छ ।

‘पुर्जा र फिल्डबुकमा नाम भएकालाई लालपुर्जा दिने प्रक्रियामा छौँ, केहीदिनमै लालपुर्जा प्रदान गछौँ,’ पोखरेलले भने । भूमिहीन सुकुमबासी र दलितले जग्गाको तिरो तिरे पुग्छ भने अव्यवस्थित बसोवासीले मूल्य निर्धारण समितिले गरेको मूल्यांकनअनुसार सय प्रतिशत राजस्व सरकारलाई बुझाउनुपर्ने आयोगका सदस्य सचिव एवं जिल्ला नापी कार्यालयका प्रमुख दिनेश काफ्लेले बताए ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।