बस्ती बसेको बीस वर्षपछि बिजुली


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित





गोदावरी । कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो ।

दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन् । खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन् ।

बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताए । यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको उनले बताए ।

यसअघि पटक–पटक बिजली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ । विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका सो टोलवासीले पहिलोपटक बत्ती बाल्न पाएको उनको भनाइ छ ।

नगरप्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा बोलेका बाचाहरू आफूले पूरा गरेको बताए । लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उनले बताए । सो टोलले बिजुली बत्ती पाए पनि बाटोघाटो र खानेपानीको समस्या भने यथावत छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।