धार्मिक र पर्यटकीय गन्तव्यस्थल बन्दै अकलादेवी


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित





दमौली । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिर धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरलाई चर्चामा ल्याउन स्थानीयवासीको प्रयास सार्थक हुँदै गएपछि यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो ठाउँ अहिले धार्मिक पर्यटकीय स्थल बन्न थालेको मन्दिर निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी र्दिए । जीर्ण रहेको मन्दिरलाई पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । तामाको छानो छाएर गजुर राखिएको उक्त मन्दिर पुनर्निर्माणका लागि साढे दुई करोड खर्च भएको छ ।

मन्दिरको नजिकै वनभोजस्थल बनाइएको छ । वनभोजका लागि पनि विभिन्न समूह आउने क्रम बढेको छ । चिसो हावा र मनोरम दृश्यका कारण वनभोजका लागि यस ठाउँ पर्यटकको रोजाइँमा पर्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाएको र सो अनुसारका पूर्वाधार थप गर्न करिब रु एक करोड आवश्यकपर्ने देखिएको छ ।

मन्दिर व्यवस्थापन समितिले प्रदेश सरकारको सहयोगमा भजनकीर्तन गर्न पार्टी निर्माण गरेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेको संयोजक घिमिरेले बताए ।पहिलो पटक किल्चोक पुग्नुभएका तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले यो ठाउँ मनोरम रहेको बताए ।

यो मन्दिरको छुटृै विशेषता रहेको छ, त्यो विशेषता हो– मन्दिरमा रहेको घण्ट आफैँ हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला, कसैले नहल्लाइकन पनि घण्ट आफैँ हल्लिन्छ र रु तर मन्दिरमा रहेको घण्ट आफैँ हल्लिएको देख्दा स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत चकित पर्ने गरेका छन् । अकलादेवी खुसी भएकाबेला मन्दिरभित्र रहेको घण्ट आफँै हल्लिने र बज्ने गरेको बताइन्छ ।

देवी प्रशन्न भएको अवस्थामा रातिको समयमा घण्ट बज्ने गरेको संयोजक घिमिरेले बताउनुभयो । विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासीले बताए ।

त्यस बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यसबारेमा जानकारी गराएपछि यो दैवीय शक्ति नै भएको र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ भनेर संरक्षणको काम सुरु भएको थियो । अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ ।

उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान गरिएको छ । मन्दिर नजिकै पञ्चवलि दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमाका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।