पोखरा । पोखरा महानगरपालिकाले सिटी भित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गरेको छ । महानगरपालिकाले पोखरा सिटी भित्रका घरहरुको अन्डरग्राउण्ड खाली गर्न आग्रह गरेको हो ।
पोखरामा जनघनत्व र सवारी साधनको चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अन्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्न सूचना जारी गरेको महानगरपालिकाले जनाएको छ । खाली गरिएको अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग गर्न महानगरपालिकाले जारी गरेको सूचनामा आग्रह गरिएको छ ।
महानगरपालिकाको सूचनामा भनिएको छ,‘आजका मितिले पैंतीस दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङको रुपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ ।’ अन्यथा कानून बमोजिम कारवाही गर्नेपनि महानगरले चेतावनी दिएको छ ।
पोखराका चोकहरुमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ । नत्र महानगरले नक्सा पास नै गरिदिदैन । अन्डरग्राउण्ड पार्किङ बनाएमा भने सो तलाको पचास प्रतिशत राजश्वसमेत घरधनीले पाउँछ । महानगरको प्रावधानमै रहेर घरधनीले घर निर्माण गर्ने गरेका छन् । राजश्वमा छुटपनि लिन्छन् । तर घर निर्माण भईसकेपछि भने अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग भने अधिकांशले गर्दैनन् । बरु त्यो तलालाई उनीहरुले व्यवसायीक प्रयोजन र गोदाम (भण्डार)का रुपमा प्रयोग गर्नेगरेका छन् । करीब २५० घरधुरीले अन्डरग्राण्डमा पार्किङ बनाउने भनेर नक्सा पास गराउँदै पचास प्रतिशत छुट लिएपनि व्यवहारमा उतारेका छैनन् । २५० मध्ये करीब ६० घरले मात्रै महानगरको मापदण्डमा रहेर अन्डरग्राउण्डलाई पार्किङका रुपमा प्रयोग गर्ने गरेको पोखरा महानगरपालिकाका ईञ्जिनियर सुरेन्द्र पौडेलले बताए । उनीहरुले अरुका लागि पार्किङ दिनु त परको कुरा आफ्नै साधनपनि सडकमा लगेर पार्किङ गर्नेगर्छन् । त्यसरी पार्किङ गर्नुपर्ने ठाउँमा मोटरसाईकल ग्यारेज, मोवाईल पसल, खाजाघर, दोहोरी साँझ, कपडा पसललगायतका व्यवसाय हुने गरेका छन् ।
एकातिर पार्किङका लागि बनाइएको घरको अन्डरग्राउण्डलाई व्यवसाय गर्ने थलो र गोदाम बनाईरहँदा अर्कोतिर पार्किङको समस्या पोखरेलीले झेलिरहेका छन् । पोखराका चोक तथा नजिकका क्षेत्रहरु पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोकमा पार्किङ अभाव छ । सोहि कारण सर्वसाधारणहरु पार्किङ खोज्दै तलमाथि गर्न बाध्य छन् । अर्कोतर्फ पार्किङ गर्ने ठाउँ नभेटेपछि बाध्य भएर दोहोरो, तेहेरो पार्किङ गर्नुपर्ने समस्या पोखरेलीले भोग्दै आएका छन् ।
महानगरपालिकाले अटेर गरेर अन्डरग्राउण्ड खाली गरेर पार्किङ स्थल नबनाए आफैले डोजर प्रयोग गरेर हटाउने जनाएको छ । महानगरपालिकाका ईञ्जिनियर सुरेन्द्र पौडेलले सूचनालाई बेवास्ता गरेर अन्डरग्राउण्ड खाली नगरे खर्च घरधनीले बेहोर्नेगरी महानगर आफैले हटाउने बताए । ‘शुरुमा उहाँहरुलाई आग्रह गर्ने हो । आग्रह गर्दा, सूचना जारी गर्दापनि अटेर गरिरहे महानगर आफैले डोजर लगाउनुको विकल्प रहँदैन’–उनले भने ।
महानगरले एक महिना अघिपनि सूचना जारी गरेको थियो तर कसैलेपनि अन्डरग्राउण्ड खाली गरेनन् । उसो त २०७४ सालमा निर्वाचित जनप्रतिनिधिलेपनि यसैगरी अन्डरग्राउण्ड खाली गर्न भन्दै सुचना जारी गरेको थियो । तर त्यतिबेलापनि घरधनी र व्यवसायीले अटेर गर्दा सो अभियान असफल भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







