बलेवा । अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर बजारको बनावटी खाना जङ्कफुड निषेध गरिएको छ । बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा जङ्कफुड ल्याएको भेटेमा विद्यालयले दिँदै आएको खाजा खर्च नदिने निर्णय गरेको हो । यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन् ।
विद्यालय छेवैका पसलबाट नियमित जसो चाउचाउ, चकलेट लगायतका जङ्कफुड ल्याउने, प्लास्टिकजन्य फोहर जथाभावी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको थियो ।
उक्त निर्णय मान्नेलाई सरकारले दिएको खाजा खर्च उपलब्ध गराउने, नत्र नदिने भएपछि नियमित रुपमा घरघरबाट खाजा बनेर आउने गरेको प्रधानाध्यापक सरिता गौतम सापकोटाले बताए ।
नेपाल सरकारले प्राथमिक तहका बालबालिकालाई दैनिक रु १५ खाजा स्वरुप दिने व्यवस्था गरेको छ । विद्यालयले एकमुष्ट रकम दिएर दैनिक खाजाको क्यालेन्डर पनि घरमा पठाइदिएको छ ।
अभिभावकलाई पनि यो निर्णयले सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए । तोकेको दिन सबैको खाजा एकै प्रकारको हुनुपर्ने प्रावधान छ । उनका अनुसार विद्यालयले हरेक आइतबार रोटी र तरकारी, सोमबार मकैभट्ट र मङ्गलबार अण्डा तरकारीको व्यवस्था गर्न क्यालेन्डर बनाइएको हो ।
त्यस्तै बुधबार हलुवा पिठो, बिहीबार चना र शुक्रबार खट्टे घ्यू खुवाउने गरिएको हो । विद्यालयले दिएको तालिकाअनुसार सबै बालबालिकाको खाजा एकै प्रकारको भएपछि मिठोनमिठो भन्ने अवस्था नरहेको गौतमले बताए ।
कतिपय विद्यालयले भने सामग्री किनेरै अभिभावकलाई दिने गरेका छन् । बानपा–८ को सिगानास्थित बौडे चउर माविमा भने विद्यालयले सामग्री खरिद गरेर दामासाही दिएको हो ।
यसरी दिँदा थोरै खर्चमा धेरै सामग्री किन्न सकिएको अभिभावकले बताए । खाजाको क्यालेन्डर बनाएर नियमित घर घरबाट ल्याएको खाने बानीले बालबालिकाको स्वास्थ्य राम्रो भएको गौतमले बताए । उनीहरुको कामबाट शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्याय प्रभावित भएको बताए ।
मिठो मसिनो मात्रै पठउने र जङ्गफुडमा खर्च गर्नेले पनि तोकिएकै खाजा ल्याउन बाध्य भएपछि बालबालिकामा विभेद नदेखिएको उनले बताए । विद्यालयले प्लास्टिकजन्य फोहरको व्यवस्थापनमा पनि एकरुपता ल्याएको छ ।
प्लास्टिकजन्य फोहर ननिकाल्ने, निस्केमा पनि उचित स्थानमा राखेर व्यवस्थापन गर्ने तथा नियमित विद्यालय सफाइ गर्ने व्यवस्थासमेत भएको अर्का शिक्षक नीता गैरेले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







