गगन थापालाई कास्की–१ बाट उम्मेदवार बन्न प्रस्ताव


     एभरेस्ट आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की क्षेत्र नम्बर–१ बाट चुनाव लड्न प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सदस्यका लागि कास्की–१ मा आकांक्षीहरुको नाम बुझाउन गरिएको आह्वानमा थापाको नामपनि प्रस्तावमा आएको हो । पूर्व कानून मन्त्रीसमेत रहेका थापा काठमाडौं महानगरपालिका क्षेत्र नम्बर–४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

बुधबार अपराह्न ३ बजेसम्मको समयसीमा दिएर गरिएको आह्वानमा महामन्त्री थापासहित १७ जनाको नाम आवेदन परेको छ । जसमा पूर्व कानून मन्त्री यज्ञबहादुर थापादेखि कांग्रेस सह–महामन्त्री जीवन परियार, एकमात्र महिला सरस्वती गुरुङसम्म छन् ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की–१ मा कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्णबहादुर केसी, वर्तमान सभापति किशोरदत्त बराल, गुरुप्रसाद बराल, सुदीपमोहन भट्टराई, तिलकबहादुर रानाभाट, विश्व घिमिरे, बीरबहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा.दीपक सुवेदी, होमबहादुर बसेल (विमल), सुनिल गुरुङ र चतुराखर अधिकारीको आवेदन परेको नेपाली कांग्रेस कास्कीका सचिव सरोज केसीले जानकारी दिए ।

उम्मेदवार बन्न थापा आफैले आवेदन दिएका भने होईनन् । उनलाई उम्मेदवार बनाउने प्रस्ताव कांग्रेस कास्कीका सचिव भानु ढकालले गरेका हुन् । उनले थापालाई उम्मेदवार बनाउन माग गर्दै बुधबार आवेदन दर्ता गराएका थिए । थापालाई उम्मेदवार बनाउन आवेदन दर्ता गराएपनि उम्मेदवार हुन थापा आउनेमा प्रस्तावक ढकाल आफै विश्वस्त छैनन् ।

भन्छन्,‘उहाँ आउनु हुन्छ भनेर नाम दर्ता गराएकै होईन । उहाँ काठमाडौंबाटै चुनाव लड्नु हुन्छ । यहाँ त केवल उहाँको सम्मान स्वरुप मात्र आवेदन दर्ता गराएको हुँ ।’ कार्यकर्ता र जनताको चाहना गगन थापा उम्मेदवार भईदेओस् भन्ने भएकाले आवेदन दर्ता गराएको उनको जिकीर छ ।

‘म लगायत सयौं कार्यकर्ता र जनताको चाहना र आग्रहमा थापाको नाम दर्ता गरिएको हो । गगन थापाजस्तो जिम्मेवार नेता हामीले उम्मेदवार पाए हुन्थ्यो भनेर नेता कार्यकर्ताले आशा राख्नु उहाँप्रतिको विश्वास र गौरवको कुरा हो’–उनले भने ।

बुधबार मागिएको आवेदनमा समानुपातिक सांसदका लागि पूर्व सभामुख तारानाथ रानाभाटसहित ९ जनाले आवेदन दिएका छन् । समानुपातिक सांसदका लागि रानाभाटसँगै सरस्वती गुरुङ, तीर्थ जङ्गली, राजकुमार गुरुङ, सूर्यप्रसाद भण्डारी, खलिल मिया, विन्दु भण्डारी, ई.रामबहादुर केसी र तर्कजङ्ग गुरुङको आवेदन परेको कांग्रेस कास्कीका सचिव सरोज केसीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।