आजकलको तीज निको लाग्दैन चौतारामा सुस्कुराएका पुराना पुस्तालाई


     एभरेस्ट आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित




कविता घर्तीमगर, पोखरा । स्वभावले म एकान्त ठाँउहरुमामा बसेर प्रकृतिसंग रमाउन मन पराउछु । हरितालिका तीजको दिन विहानै कास्कीकोट उक्लेकी थिए पोखरा बजारबाट ।

विगत केहि दिन देखि शहरमा कहिले एउटा संस्थाको त कहिले अर्को संस्थाको तीजको दर कार्यक्रममा सामेल हुदा हुदै वाक्क लागिरहेको थियो । त्यहि क्रममा पनि धेरै दिदीवहिनीहरुसंग भेट भएको थियो ।

महंगा गरगहना तथा मेकअप र कपडामा सजिएका देखिन्थे । भाषण कार्यक्रम सकिएपछि दरका रुपमा सेलरोटी,कोल्ड ड्रिंग्स,वियर लगाएतका पेय पदार्थ,मासु चिउरा,खिर यस्तै यस्तै खाना । अन्तिममा फोटो खिच्ने देखि टिकटकमै लिप्त जताततै दिदीबहिनी। महिला मुद्धा र जागरणका कुरा फेकबुक र टिकटकमै सिमित ।

पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा पहिलो पटक सैन्य अभ्यास गरेको स्थान धुपिचौर,जसलाई अहिले कुलमण्डल धुपिचौर नाम दिएर पार्क बनाईको छ । चिटिक्क पार्क देखेपछि त्यही पार्कमा गएर बसे एक ठाँउमा ।

पर्यटकिय नगरी पोखराको वडा नं. २४ कास्कीकोट एउटा ऐतिहासिक तथा ग्रामिण परिवेशमा पर्दछ । पहाडको थुम्कामा अवस्थित कास्कीकोट बाईसे चौविसे राज्यका पालामा शाह वंशिय राजाले राज्य गरेको थियो । गाउँले जीवनशैली जिवित रहेको कास्कीकोट निकै सुन्दर र रमणिय छ ।

त्यहाँबाट फेवाताल माछापुछ्रे हिमाल लगाएत पोखराका सबै पर्यटकिय स्थानहरु प्रष्ट देख्न सकिन्छ । गाउँले जीवनशैली मन पराउनेहरु पोखरा बजारदेखि त्यहाँ पुगेर टहलिने गर्दछन् तर त्यहाँको वास्तविक मौलिकता भने हराउदै गएको महसुस् तीज पर्वको दिन प्रष्ट हुन्छ ।

तीजको दिन गाँउको पिच सडकमा चिल्लो कारहरुमा हुईकिदै कोहि तल कोहि माथी गरिरहेका छन्,सायद कोहि माईत दर खान र कोहि खाएर पर्किदा हुन् ,कोहि भने चेली लिन हिडेका पनि होलान् । महिलाहरु रातो साडी र कुर्तामा सजिएर गाउँबाट सोहि बाटोमा झर्दैछन् ,कोहि भने बाटैभरि फोटो खिच्दै त कोहि टिकटकमा एक तमासले उफ्रिरहेका देख्न सकिन्छ । यी सबै दृश्य नियाल्दै सडक छेउमा रहेको कुलमण्डल पार्कको चौतारामा सुस्केराईरहेका छन् ८५ वर्षिय नवर्दा त्रिपाठी,ठाकुर प्रसाद त्रिपाठी,मान बहादुर सुनार,खडेग बहादुर परियार,तारापति सुनार,बसन्त सुनार लगाएत गाँउका पुराना पुस्ताहरु ।

पुराना पुस्तालाई आजभोली मनाईने तीजपर्वको रौनकता देख्दा खिन्न लाग्छ । ५० /६० वर्ष पहिले गाउँघरमा मानिने यस्ता पर्वको महत्व र माहोल अहिलेका नयाँ पुस्तामा नदेख्दा दुख लाग्छ उनीहरुलाई । छोराबुहारी र छोरीज्वाँई आफ्नौ तालमा आउने जाने गरेका छन् , बृद्धबृद्धाहरु आजकलको पुस्ताले अंगालेका पर्वहरु प्रति खिन्न मान्दछन्,गाउँटोलहरुमा चेलिमाईतीविच एक अर्कामा व्यक्त गरेका कारुणिक शब्दका स्वरहरु सुनिदैनन्, मादलका आवाजहरु बज्दैनन् त्यसैले कास्कीकोतको गाँउ पनि शुन्य छ तीजको दिन ।

“काँकरी टिपेकीछु आमालाई कोसेली,मेरै बाटो कुरेर बसि होलिन सुसेली” भन्दै माईत जान हतारिएका चेलीका बेदनाका भाकाहरु चोक चोकमा गञ्जायमान हुन्थ्यो”, मान बहादुर सुनारले भने,“हामी मादल बजाएर सहयोग गथ्र्यौ र माईतीको बेदनाहरु पोख्थ्यौ,जसबाट सामाजिक चित्रण हुन्थ्यो,तर, अहिलेको पुस्ताको भड्किलो भाका सुन्दा लाज लाग्छ, ।”

समाजमा बढ्दो प्रविधिले मान्छे स्वार्थी र अल्छि बनाउनुका साथै धनी र गरिबविचको खाँडल बनाएको त्यसैगरि हिंसाले प्रशय पाईरहेको उनको बुझाई छ । “अहिले त टिकटक भन्ने आको रहेछ मोबाईलमा,जता हे¥यो पोईला जान पाम शिव भन्दै बाटोघाटो उफ्रेका छन्,तीज मात्रै होईन सबै चाडपर्वहरु प्रविधिले विगारेको छ,”उनले भने ।

उनी गुनासो पोख्दै थिए म सुन्दै थिए,हामी गफिदै गर्दा गाउँका समाजसेवी तथा पुर्व शिक्षक ठाकुर प्रसाद त्रिपाठी आए । उनले पनि गुनासो पोख्दै तीज आउनु एक महिना पुर्व शहरका विभिन्न पार्टीप्यालेसहरुमा दर खाने प्रचलनले तीज पर्वको विषेशता हराएर भड्किलो रुप लिएको बताए ।

“युवा पुस्ता शहर झरे, तीज पर्व पनि शहर केन्द्रित भएकोले हाम्रो गाँउ शुन्य छ,यसरी नै लोप हुदै गए हाम्रो पुरानो संस्कारहरु ” उनले भने । ब्राहमण,दलित तथा जनजातिको संयुक्त बसोबास रहेको कास्कीकोतमा आफु युवाअवस्थामा हुदा यी सबै समुदाय मिलेर तीजको अवसरमा ठुलै कार्यक्रम हुने गर्दथ्यो तर अहिले भने नयाँ पुस्ताले वेवास्ता गरेको उनको गुनासो छ ।

“हाम्रा पालामा गाउँमै बसेर सबै समुदाय मिलेर मौलिक संस्कारलाई जोगायौ तर,अहिलेका पुस्तालाई कोहि शहर झरेर उतैको संस्कारमा लिप्त भए,कोहि विदेशिए बाँकी रहेका महिला छोरीबेटिहरु टिकटक र फेसबुकमै तल्लिन छन् ,हामी बृद्धबद्धा गाँउमा यो बेला विरक्तिएर बसेका छौ” उनले भने । तीज पर्वको मौलिकपनले धार परिवर्तन गर्नुमा अहिलेको पुस्ताको मात्रै दोष नभई सरकारले पनि मौलिक संस्कृतिहरु संरक्षण गर्न युवापुस्तालाई प्रोत्साहन गर्न तथा सामाजिक मर्यादालाई व्यवस्थापन गर्न चुकेको उनको तर्क छ ।

त्यसैगरि खिन्न छन् तीजको दिन खडेग बहादुर परियार पनि । गाउँघरमा रमाईलो कसैले नगरेको भन्दै चौतारीमा हावा खान आएको उनको भनाई छ । पहिले पहिले दिदीवहिनीहरुले तीजका भाका गाउदै गाउँटोल गञ्जामय हुने गरेको स्मरण गर्दै उनले भने, “अहिले गाउँमा त्यो माहोल कतै छैन्,युवापुस्ताले यसमा चासो र संरक्षण गरेनन्,हाम्रा कुरा पनि सुन्दैनन् ।” गाउँघरमा उत्पादित अर्गानिक खानेकुराहरु व्रत बस्ने चेलीहरुले दरका रुपमा खान्थे,र दरिलो हुने भएकोले दर खाने चलन भनिन्थ्यो,”उनले भने,“अहिलेकाहरुले रक्सी,वियर,मासु खाने गर्छन्।”

गाउँको मौलिकता हराएको प्रति समान गुनासो थियो उनीहरुको । तीजपर्वको समयमा बाल्यकाल देखि वयस्कवस्था सम्मका विगतहरुको बारेमा भलाकुसारी जारी नै थियो ।

चौतारामा एक एक गर्दै अरु बृद्धा आमाहरु पनि थपिए, ठुलै संख्या भयौ चौतारामा । अव आजको दिन खिन्न किन हुने र ?अव हामी सबै मिलेर तपाईहरुका पालामा गाउनुभएका तीजका भाकाहरु गाएर नाचौ न भन्दै उस्काए । उनीहरुको खिन्न माहोललाई पुरानै समयमा फर्काउन कोसिस गरे ।

कोहि मादल लिन गए,कोहि छनछने लिन,त्यसपछि सुरु भयो तीजको लोपोन्मुख हम्क्याईलो भाका । मैले कहिलै नसुनेको भाका हम्क्याईलो ।

ए..हाम्रो भाउजु लिन आईनिन् हम्क्याईलो ,आ…तिजमा चेलि रुदै बसिन हम्क्याईलो, हाम्रा बाबा भए त हम्क्याईलो, तीजमा लिन आउथे होलान हम्क्याईलो…….

मेरो अफिसको समय सुरु हुन लागेको थियो म हतारमा थिए । छुट्टिन मन पनि थिएन् । अझै उत्सुकता हुदै गएको थिए पाका व्यक्तिहरुको कुराहरु सुन्न तर बाध्यता थियो छुट्टिनपर्ने ।

अन्त्यमा मन नलागि नलागि भने “तपाईहरु आज दिनभरी यसरी नै चौतारालाई तीजको भाका गाएर, नाचेर साथ दिनुस् है”। नजान अनुरोध गरेका थिए उनीहरु । तर, विदा मागेर सुईकुच्चा ठोके ओराल्यै ओरालो बाटो । आरालो बाटोमा चिटिक्क सजिएर दिदीबहिनीहरु मोबाईल ठडाएर टिकटकमा ब्यस्त थिए ,मोबाईलमा टिकटक एपको साउण्ड थियो ”चरी जेलैमा,मै छोरी रुदै रुदै बेँसीमेलैमा……..”


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।