दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित




तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति भएको छ।

संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो।

कृषि ज्ञान केन्द्रको २ रोपनी र पशु सेवा विज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिएका छन्।

लामो समयदेखि जग्गा व्यवस्थापनका लागि पहल हुँदै आएकोमा बल्ल यसले सार्थकता पाएको उनले बताए।

‘अस्पतालको सेवा विस्तारका लागि भवन निर्माण गर्न जग्गा चाहिएको थियो, अस्पतालसँगै जोडिएका २ सरकारी कार्यालयको जग्गा भोगचलनका लागि पाएका छौं,’ उनले भने, ‘जग्गा प्राप्तिसँगै अब भवन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को तयारी गरेका छौं।’

गण्डकी प्रदेश सरकारले उक्त जग्गामा भवन निर्माणका लागि डीपीआर गर्न बजेट सहयोग गरेको छ। यसपछि भवन निर्माणका लागि बजेटको सुनिश्चितता हुनेछ।

‘जग्गा अभावकै कारण अस्पतालको स्तरोन्नति हुन सकेको थिएन, जग्गा पायौं अब अस्पताल स्तरोन्नति हुने आशा छ,’ अध्यक्ष थापाले भने।

अस्पताल विस्तार भएपछि तनहुँका अलावा छिमेकी जिल्लाका सर्वसाधारणले पनि सेवा पाउनेछन्। नयाँ निर्माण हुने भवनमा आँखा उपचार केन्द्र पनि बनाउने तयारी गरिएको छ। प्रदेश सरकारले दमौलीमा गोवद्र्धन शर्मा आँखा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो। अस्पतालले हाल ५० शय्याबाट उपचार सेवा दिइरहेको छ। अस्पतालको सीमित स्रोत र साधन हुँदाहुँदै पनि अस्पतालले स्वीकृत शय्या (१५) भन्दा बढी क्षमतामा सेवा दिइरहेको छ।

अस्पतालमा फोहोर पानी तथा फोहोरमैला व्यवस्थापनका लागि ‘अटोक्लेप्स’सहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, ‘एनेस्थेसिया’ सेवा, भेन्टिलेटरसहित ‘आईसीयू’ कक्ष, अत्याधुनिक प्रयोगशाला सेवा, ‘डिजिटल एक्सरे’, नि:शुल्क औषधि कक्ष लगायत सेवा विस्तार भइसकेको छ। साथै शव राख्न २ तह भएका २ मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको छ।
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।