मध्यपहाडी राजमार्ग : पोखरा महानगर खण्डको ठेक्का आह्वान


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित




लामो समयदेखि विवादित रहेको मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा महानगर खण्डको राजमार्ग रेखांकन (एलाइनमेन्ट) टुंगो लागेपछि ठेक्का आह्वान गरिएको छ ।

पोखरा महानगरपालिका–२५ याम्दी जौवारी पुलदेखि मादी गाउँपालिकाको भैंसेसम्मको राजमार्ग निश्चित नहुँदा लामो समय यस खण्डमा काम हुन सकेको थिएन । राजमार्गको नयाँ रेखांकनअनुसार पोखरा बजार क्षेत्र छाडेर राजमार्ग गाउँतिर सरेको छ ।

यसबाट पोखराको ग्रामीण क्षेत्र सुविधासम्पन्न राजमार्गमा जोडिनेछन्। अर्मलाकोट, आँटीघर मौजा, सिक्लेस, ताङतिङलगायतका पर्यटकीयस्थलको महत्व झनै बढाउने भएको छ ।

मध्यपहाडीको पोखरा खण्डको दशकअघि तय गरिएको रेखांकन क्षेत्रमा पछिल्लो समय बजार विस्तार भएको र राजमार्ग सोही बाटो हुँदै लैजाँदा ठूलो संख्यामा घरहरू विस्थापित हुने देखिएको थियो। त्यसपछि बजार क्षेत्रमा लामो समय राजमार्ग विस्तारको योजना अघि बढ्न सकेको थिएन ।

कास्की खण्डकै पश्चिम क्षेत्रमा काम सम्पन्न भएको र पूर्वी खण्डको निर्माण भइरहँदा यस क्षेत्रमा विवादकै कारणले ठेक्का आह्वान हुन सकेको थिएन। सरकारले आगामी २०८१ सम्ममा मध्यपहाडी राजमार्गको संपूर्ण काम सम्पन्न गर्नेगरी काम अघि बढाएको थियो । पछिल्लो समय पोखरा खण्डमा यसअघिको राजमार्गको रेखांकन परिवर्तन गरिएको छ ।

पोखरा खण्डको ४० किमीमा नयाँ रेखांकन गरेर विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी रू. ४ अर्ब लागत अनुमानसहित बोलपत्र आह्वान गरिएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग योजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताए । मध्यपहाडीको नयाँ रेखांकनअनुसार याम्दीपुलदेखि, लामाचौर, अमला बिसौनी, महेन्द्रगुफा, कालीखोला, अर्मलाकोट, आँटीघर, पानीघाट, मेलबोट, ज्याम्दु हुँदै भैंसेसम्म जोड्ने गरी डीपीआर बनाइएको छ । योजना कार्यालयका अनुसार याम्दीदेखि कालिखोलासम्मको सडक चार लेन र कालीखोलादेखि ज्याम्दुसम्मको पहाडी भूगोलमा २ लेनको सडक बन्नेछ ।

योजना प्रमुख भण्डारीले भने, ‘भैंसेदेखि याम्दीसम्म विगत वर्षहरूमा डीपीआर तथा सर्भे भएर बसिरहेको र ठेक्का लगाउन नसकिएको अवस्था थियो ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।