पोखराका मेयर आचार्यको १०० दिन सार्वजनिक


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ ।

पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फूलका बिरुवा रोपेर आफ्नो कामको सुरुवात गरेको बताए । आफ्नो १०० दिनको कामबाट आफू सन्तुष्ट रहेको उनको भनाई थियो ।

प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको सुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्धार प्रणाली, जनगुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रमलाई सय दिनको उपलब्धिमा समावेश गरेका छन् ।

निजी संस्थासँगको साझेदारीमा ७२ वटा सार्वजनिक शौचालय सर्वसाधरणका लागि खुला गरिएको आचार्यले बताए । मेयर आचार्यले महानगरपालिका अहिले आन्तरिक व्यवस्थापन बलियो बनाउने काममा लागिपरेको बताए । उनले पोखरा महानगरपालिकामा अहिले फोहोरको समस्या रहेकोले समस्या समाधानका लागि काम भइरहेको पनि उल्लेख गरे ।

उनले महानगरपालिकाले उज्यालो पोखरा कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरण र पोखरा महागनरको (पचास/पचास प्रतिशत) १३ करोडको लागानीमा २३ वटा चोकहरुमा हाइ–मास्ट पोलमा १५ सय चार वटा सडक बत्ति जडान सुरु गरेको बताए ।

१०० दिनमा युवा तथा बेरोजगारलाई लक्षित गरी ३० करोड पुँजी भएको व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरिएको महानगरले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।