म्याङुलुङ । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन् । किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन् ।
गाउँमा छुर्पी उद्योग सुरु हुनुअघि अधिकांस किसानले घ्यू मात्रै उत्पादन गर्ने गर्थे । त्यति मात्रै होइन, उनीहरु टाढा टाढासम्म दूध बिक्री गर्न लैजान बाध्य थिए । गाउँभन्दा टाढासम्म दूध बेच्न लैजाँदा समयमा पैसा नपाउने र कम मूल्यमा बेच्न किसान बाध्य थिए । यतिबेला किसान गाउँमै स्थापना भएको उद्योगले दूध खरिद गर्न थालेपछि खुसी भएका छन् ।
छथर गाउँपालिकाको हमरजुङ, ओख्रे र सुदापबाट दैनिक तीन सयदेखि पाँच सय लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । यही दूधबाट दैनिक ५० किलोसम्म छुर्पी र ३० किलोसम्म घीउ उत्पादन हुने गरेको छ । यसले छुर्पी र घ्यू उत्पादन गर्ने व्यवसायीलाई फाइदा पुगेको छ ।
दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि घरखर्च चलाउन सजिलो भएको स्थानीय छत्रबहादुर खड्काले बताए । गाउँमा छुर्पी उद्योग सञ्चालनमा आएपछि दुग्ध उत्पादक किसानलाई मात्र होइन उद्योगीसमेत खुसी भएका छन् । छुर्पीले राम्रो बजार पाएपछि उद्योगीले मनग्य आम्दानी गर्न थालेका छन् ।
जनकन्या किसान पशुपालन सहकारी संस्थाका सचिव रामबहादुर भट्टराईले थछरका धेरैजसो किसानले दूध बेच्न ल्याउने भएका कारण व्यापार बढेको बताए । छथर गाउँपालिले केही वर्षयता लगातार रुपमा छुर्पी उद्योग र पशु विकासका लागि अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले थप किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने स्थानीय उमेश ठकुरीको भनाइ छ ।
छुर्पी उद्योगसमेत सञ्चालन गर्दै आएका ठकुरीले सहरमा भन्दा पनि ग्रामीण क्षेत्रका किसानको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । यहाँ पाँच उद्योगबाट छुर्पी उत्पादन भइरहेको छ । बिक्रीका लागि कुनै समस्या छैन ।
यहाँ उत्पादित छुर्पी तेह्रथुमका साथै धनकुटा, धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । स्थानीयस्तरमै उत्पादित छुर्पीको बजार प्रवद्र्धनमा ध्यान दिनसके छथरको छुर्पीलाई छुट्टै ब्राण्ड बनाउन सकिने तथा विदेशसमेत निर्यात गर्न सकिने स्थानीयवासी बताउँछन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







