गलेश्वर । डेढ दशक अघिसम्म छाप्रे पसल र घोडा खच्चडको चरन क्षेत्रका रूपमा चिनिएको पश्चिम म्याग्दीको मुख्य ग्रामीण बजार दरबाङ अहिले म्याग्दीका दुई गाउँपालिका र छिमेकी जिल्ला बागलुङका एक दर्जनभन्दा बढी गाउँका लागि व्यापार व्यवसायको प्रमुख बजार बनेको छ ।
दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द्र हो । जिल्लाको दोस्रो सदरमुकामका नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दूरीमा रहेको छ । धौलागिरि हिमालको प्रवेशद्वारसमेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव बस्तीको सुरुआती चरणमा रहेजस्तो देखिन्थ्यो ।
यहाँका बासिन्दा व्यापार व्यवसायमा कम र परम्परागत कृषिमा बढी महत्व दिन्थे । तर, अहिले समय फेरिएको छ । समयसँगै कोदो, मकै खेतीबाट जीवन गुजारा चलाउने दरबाङबासीको दैनिकी र जीवनस्तरमा पनि निकै ठूलो परिवर्तन भइसकेको छ । परम्परागत खेतीपाती होइन, व्यवसाय र आधुनिक जीवनशैली उनीहरूको दैनिकी बनेको छ ।
सङ्घीयता स्थापनापछि मालिका गाउँपालिकाको केन्द्र बनेसँगै दरबाङको स्वरूप फेरिन थालेको हो । पुराना घर भत्किँदै नयाँ बन्ने क्रम र केही नयाँ, केही पुराना संरचनाले भरिभराउ दरबाङले काँचुली फेर्दै गरेको देखिन्छ । पछिल्लो समय विकसित हुँदै गएको दरबाङ बजारमा बैंक तथा वित्तीय संस्था खुल्ने क्रम बढेको छ । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको बेनी–दरबाङ सडकको स्तरोन्नतिको काम भइरहेको छ ।
बेनी–दरबाङ सडक कालोपत्र भए आवतजावत र ढुवानी सहज बन्नुका साथै म्याग्दीको पश्चिमी क्षेत्रको पूर्वाधार, आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । दश वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित चार जिल्लालाई समेटेर बनाइएको गुरिल्ला पदमार्गको समेत प्रवेशद्धार दरबाङलाई मानिन्छ ।
द्वन्द्वको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामीण बस्तीलाई लक्षित गरी विस्तार गरिएको यो पदमार्ग प्रदेश नं ४ र ५ को उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने प्रबल सम्भावना समेत रहेको छ । द्वन्द्वप्रभावित क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न र विदेशी पर्यटकलाई युद्धकालीन दिनचर्या, विकट बस्तीको जनजीवन, मगर संस्कृतिको अनुभव दिलाउन तथा माओवादीको सेल्टरलाई आधार बनाई पदमार्गको नामकरण गरिएको थियो ।
रुटका अधिकांश क्षेत्र युद्धकालीन समयमा माओवादीको सेन्टर मानिन्छन् । जिल्लाको मालिका गाउँपालिकाको दरबाङलाई प्रवेशद्धार मानिएको पदमार्गमा धवलागिरि गाउँपालिकाको धारापानी, ताकम, मुना, लम्सुङ, मरेनी, जलजला, पूर्वी रुकुमको लुकुम, उपल्लो शेरा, बागलुङको निश्यापिढारे, ढोरपाटन, रोल्पाको सुलिचौर, ज्यलबाङ, ढवाङलगायतका क्षेत्र पर्दछन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







