बाँकेमा मानव बेचबिखनका घटना बढ्दै


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित





राँझा । बाँकेमा मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन । करिब एकदर्जन गैरसरकारी संस्था बाँकेमा कार्यरत छन् तर मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो रहेको छ ।

नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, शान्ति पुनःस्थापना गृह, साथी संस्था, सेलर्ड, शक्ति समूह, साना हातलगायतका संस्थाले निगरानी गर्दै आएका छन् ।

मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाको सङ्ख्या बढ्नु सकारात्मक भए पनि सहकार्यको अभावमा दोहोरोपना देखिँदा कहीँ कतै समस्या हुने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए । मानव बेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाले सचेतना जगाउने र सीमावर्ती क्षेत्रमा जाँच तथा परामर्श गर्ने गरे पनि बेचिएका महिला उद्धार गर्न सकिरहेका छैनन् ।

सङ्घ संस्था परियोजनामुखी भएका कारण पनि अभियान प्रभावकारी हुन नसकेको अधिवक्ता पदम पाण्डे बताउछन । वैदेशिक रोजगारका नाममा महिलालाई सीमा कटाएर लैजाने र बेचविखन गर्ने गरेको पाइए पनि दलालविरुद्धका मुद्दा कमजोर हुने र पीडितले बयान फेर्ने समस्यालाई हल गर्न अब मुद्दा नै वैदेशिक रोजगारअनुसार दर्ता गर्नुपर्ने पाण्डेको सुझाव छ ।

माइती नेपाल, नेपालगञ्जमा खोजतलासका लागि गत आर्थिक वर्ष २०७८÷७९ मा मात्रै सात सय १२ निवेदन परेका छन् । ती निवेदनमध्ये दुई सय ८५ जना फेला परेका छन् । यो अवधिमा माइती नेपाल, नेपालगञ्जले जोखिमपूर्ण यात्रामा रहेका छ सय २७ जनाको नेपालगञ्जस्थित जमुनाह नाकाबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक कोइरालाले जानकारी दिए ।

सङ्घ, संस्थाको पहलमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका तथा बेचिन लागेको आशङ्का लागेका सयौँको उद्धार हुँदै आए पनि मुद्दा भने न्यून दर्ता हुने गरेका छन् । पछिल्लो समय प्रविधिको प्रयोगले झुक्याएर, जागिरको प्रलोभन देखाएर, आफन्तबाटै भारत लगेर बिक्री गर्ने गरेको पाइएको शान्ति पुनःस्थापना गृह बाँकेका कार्यक्रम संयोजक निर्मल सुवेदीले बताए ।

उनका अनुसार मानव बेचबिखन गर्नेले नयाँ नयाँ रणनीति अपनाएर युवतीलाई भारत पु¥याउने गरेको पाइएको छ । शान्ति पुनःस्थापना गृह बाँकेले बाँकेका चार नाकाबाट आर्थिक वर्ष २०७८÷७९ मा जोखिमपूर्ण यात्रामा रहेका दुई सय ४६ जनाको उद्धार गरेको छ ।

भारत पुगेर छ जना नेपालीको उद्धार गरी नेपाल फर्काएको कार्यक्रम संयोजक सुवेदीले जानकारी दिए । मानव बेचबिखनका घटनामा कमै मात्र मुद्दामा जाने गरेका छन् । शान्ति पुनःस्थापन गृहले सीमामा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम गरिरहेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।