स्याङ्जाको वालिङमा असोजको दोस्रो साता ‘लियो मिनी म्याराथुन’ हुने


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित




स्याङ्जाको वालिङमा असोजको दोस्रो साता ‘लियो मिनी म्याराथुन’ हुने भएको छ ।

लियो क्लब अफ वालिङ सिटीको आयोजनामा असोज ८ गते वालिङमा म्याराथुन प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

खेलकुदलाई शहर केन्द्रीत मात्र नभई यसको संस्थागत विकास लागि स्थानीय तहको तल्लो तहसम्म पु¥याई नयाँ नयाँ प्रतिभाहरुको खोजी गर्ने, खेलकूदसँगै रचनात्मक कार्यहरुमा युवाहरुलाई आकर्षित गर्दै निरन्तरता दिने लक्ष्यसहित प्रतियोगिताको आयोजना गरिएको लियो क्लब अफ ३२५ एम नेपालका डिष्ट्रिक सेक्रेटरी दिक्षान्तप्रताप खाँणले जानकारी दिएका छन् ।

विशेषगरी, ठूला भनिएका शहर केन्द्रीत खेलकुदका गतिविधिहरु हुँदै गर्दा मोफसलमा पनि म्याराथुन आयोजना गरी खेलकुदलाई गाउँ–गाउँ तथा टोल–टोलमा पु¥याउन खोजिएको उनले बताए ।

स्याङ्जाको भीरकोट नगरपालिकाको प्रशासकीय कार्यालयबाट सुरु हुने प्रतियोगिता वालिङ नगरपालिकाको प्रशासकीय कार्यालयसम्म आएर टुंगिने छ ।

‘सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग तथा भित्री सडकहरुको प्रयोग गरी प्रतियोगिता सञ्चालन हुने छ’, उनले भने ‘दुई पालिका जोड्ने गरी तयार पारिएको धावनमार्ग १९.२ किलोमिटर दूरी रहने छ ।’

जिल्लाभित्र तथा बाहिरका युवाहरुले प्रतियोगितामा सहभागिता जनाउने भएकाले ठाउँ ठाउँमा वालिङको पहिचान दिने खालका सांस्कृतिक कार्यक्रमहरुसमेत गरिने छ ।

लियो क्लब अफ वालिङ सिटीले आयोजना गरेको म्याराथुनमा युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिकासहित विभिन्न संघसंस्थाले सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा स्याङ्जासहित गण्डकी प्रदेश र अन्य प्रदेशका गरी ३ सय बढी धावकहरुको सहभागिता रहने आयोजकले दावी गरेको छ । एक दिनमा सकिने म्याराथुनका लागि कूल ५ लाख ५४ हजार खर्च र ६ लाख ४० हजार आम्दानी हुने प्रतियोगिता मूल आयोजक समितिका संयोजक हरि रेग्मीले बताएका छन् । वचत हुने ८६ हजार रकमले क्लबले सामाजिक तथा शैक्षिक क्षेत्रमा खर्च गर्ने छ बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना स्थान प्राप्त गर्ने धावकले ४ हजार नगदसहित शिल्ड, मेडल पुरस्कार जित्नेछन् । दशौं स्थानसम्मका धावकहरुलाई पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि आयोजकले विभिन्न उपसमिति बनाएर तयारीलाई तीब्र पारेको कार्यक्रम संयोजक रेग्मीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।