लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि ८ जना महिला सिफारिस


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित




मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि लमजुङबाट ८ जना महिलाको नाम सिफारिस भएको छ ।

प्रदेश सभा प्रत्यक्षतर्फ १ जना र समानुपातिकतर्फ २१ जनाको नाम सिफारिस भएको छ ।

नेपाली काँग्रेसबाट ३ जना महिला, नेकपा एमालेबाट २ जना महिला, माओवादी केन्द्रबाट २ जना र नेपाल समाजवादी पार्टीबाट १ जना महिलाको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको हो ।

नेकपा एमालेबाट समानुपातिकतर्फ केन्द्रीय सदस्य, लमजुङ सह–इन्चार्ज एवं संविधान सभा सदस्य टुकाभद्र हमाल र केन्द्रीय सदस्य कल्पना थापाको नाम सिफारिस भएको छ ।

माओवादी केन्द्रबाट समानुपातिकमा गण्डकी प्रदेश सभा सदस्य, केन्द्रीय सदस्य, गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ र उर्मिला माझीको नाम सिफारिस भएको छ ।

नेपाली काँग्रेसबाट समानुपातिक तर्फ कोपिला वि.क., तिरकाशी गुरुङ र कृष्णमाया वि.क.को नाम सिफारिस भएको छ । नेपाल समाजवादी पार्टी लमजुङले प्रतिनिधि सभा समानुपातिकमा शोभा गिरीलाई सिफारिस गरेको छ ।

नेकपा एमाले, काँग्रेस, नेसपाबाट प्रदेश ‘क’ र ‘ख’ मा प्रत्यक्षतर्फ महिलाको नाम सिफारिस भएको छैन । माओवादी केन्द्रबाट प्रदेश ‘क’ को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङको नाम सिफारिस भएको छ ।

प्रदेश सभा समानुपातिकमा नेकपा एमालेबाट ५ जना महिलाको नाम सिफारिस भएको छ । लक्ष्मीदेवी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया रानामगरको नाम सिफारिस भएको एमालेले जनाएको छ ।

माओवादी केन्द्रबाट प्रदेश सभा समानुपातिकमा ३ जनाको नाम सिफारिस भएको छ । सतीमाया तामाङ, शोभा थापा, जुना वि.क.को नाम सिफारिस भएको छ । नेपाली काँग्रेसले प्रदेश ‘क’ को समानुपातिकतर्फ ५ जना खुसीमाया (अस्मिता) गुरुङ, छुपीमाया गुरुङ, धनकुमारी गुरुङ, सप्रिया जोशी, विष्णुमाया न्यौपाने धितालको नाम सिफारिस गरेको छ ।

प्रदेश ‘ख’ को समानुपातिकतर्फ ७ जना टीकाकुमारी बस्याल, पार्वती तामाङ, सुस्मिता अधिकारी क्षेत्री, ज्ञानु शाह, सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ, राधा श्रेष्ठको नाम सिफारिस गरेको छ ।

नेपाल समाजवादी पार्टी लमजुङले प्रदेश सभा समानुपातिक रेलकुमारी गुरुङलाई सिफारिस गरेको छ ।

गोरखापत्र अनलाइनमा समाचार छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।