हट्यो भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित





कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो ।

विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ । पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् ।

यसअघि पैदलयात्रु र दुईपाङ्ग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुलबाट हुने गरे पनि चारपाङ्ग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो । महाकाली नदीमा पक्की पुल बनेपछि त्यो बाध्यता अन्त्य भएको छ ।

दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरि सिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेवल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताए । दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको एक हजार चार सय ९५ मिटर लामो झोलुङ्गे पुलले पनि निकै राहत दिएको थियो ।

मानिसको आवतजावत र दुईपाङ्ग्रे सवारी साधनले महाकाली तर्न यही झोलुङ्गे बनेपछि मात्र सम्भव भएको थियो । महाकाली पारीको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजार बढी जनसङ्ख्या छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले पुलको काम सम्पन्न भइसकेको बताए ।

दोधाराचाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक निर्माण अन्तिमा चरणमा रहेको उनले बताए । पुलसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नदीका दुवै किनार तर्फको ६००÷६०० मिटरसम्म ठूलो पोखरीसमेत निर्माण हुने महाकाली पुल आयोजना कार्यालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।