वालिङ । स्याङ्जाको वालिङ– ८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो ।
शिवालय धुनीको गुठीमा व्यवस्थित तरिकाको गौशाला निर्माण गरी गाई स्थानान्तरण गरिएको वालिङ नगरपालिका–८ का पूर्ववडा सदस्य अनन्तराज शर्माले बताए ।
शर्माका अनुसार वालिङ नगरपालिकाबाट आर्थिक वर्ष २०७८÷७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु पाँच लाख ५० हजार, वडा कार्यालयअन्तर्गत सोही शीर्षकबाट रु दुई लाख र नगरस्तरीय योजनाबाट रु पाँच लाख गरी कूल रु १२ लाख ५० हजार प्राप्त भएको र बाँकी रु दुई लाख सरसापटीबाट निर्माण गरिएको हो ।
गाई पछिल्लो समय जथाभावी छोडिदिँदा बालीनाली खाइदिने, सडकमा हुलका हुल हुँदा दुर्घटना हुनसक्ने भएकाले त्यसको व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको हो । गौशालामा हाल सानाठूला गरी ८७ गाई तथा बाच्छाबाच्छी रहेका छन् ।
गौशालामा आवश्यक भौतिक संरचना केही निर्माण भएका र बाँकी थप गर्दै लगिने धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रमका अध्यक्ष ढालप्रसाद पौडेलले बताए । वालिङ नगरपालिकाको सहयोगमा निर्माण गरिएको गौशालाको रेखदेख तथा संरक्षण कार्य समितिमार्फत गरिएको छ ।
यस ठाउँमा सुरुआती चरण भएकाले पनि सबै व्यवस्थापन नभइसकेकाले क्रमशः पराल, खर, दानापानी तथा भण्डारणको व्यवस्थातिर जोड दिँदै जाने उनले बताए । गौशालामा गाईको मलमूत्र छुट्टाछुट्टै सङ्कलन गरी बिक्री गरी आम्दानीमा राख्ने निर्णय समितिले गरेको छ ।
वालिङ बजार तथा आसपासका क्षेत्रमा छाडा छोडिएका पशु चौपायाका कारण स्थानीयको बालीनालीमा नोक्सानी भएको गुनासो अत्यधिक आउन थालेकाले गाई संरक्षणका लागि दीर्घकालीन योजनाका रुपमा गौशाला निर्माण गरिएको हो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







