सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्दै


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित





संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो ।

सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सो कुरा बताएका हुन । यहाँ कुपोषणको समस्या कम्तीमा पनि १५ लाख बालबालिकामा पुगेको छ । यो सङ्ख्या यहाँको पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको करिब आधाजति नै हो ।

यसरी पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको आधा जतिलाई कुपोषणको समस्या देखिनुलाई बाल स्वास्थ्यका क्षेत्रको निकै ठूलो चुनौतीका रुपमा हेर्नुपर्ने अवस्था रहेको पनि उनले बताएका छन । यहाँ कुपोषण देखा परेका बालबालिकाको सङ्ख्यामध्ये करिब चार लाख बालबालिकालाई त अस्पताल भर्ना गरेर राम्रोसँग उपचार नै गर्नुपर्ने अवस्था रहेको पनि बताइएको छ ।

यो वर्तमान अवस्था अझै बढ्दै जाने हो भने सोमालियामा बालस्वास्थ्यका क्षेत्रमा निकै ठूलो चुनौती देखा पर्नसक्ने अवस्था रहेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।

गएको जनवरीदेखि यतासम्मको तथ्याङ्कमा यहाँका सात सय ३० जना कुपोषित बालबालिका खाद्यकेन्द्र तथा अस्पतालमा उपचारका क्रममा नै मृत्यु भइसकेको पनि संयुक्त राष्ट्रसङ्घीय बालकोषले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।