नेपाल भ्रमण सकेर फर्किए भारतीय सेनाध्यक्ष पाण्डे, पोखरामा आई सि यू एम्बुलेन्स हस्तान्तरण


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित




पोखरा । भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् ।
सेनाध्यक्ष पाण्डे र उनकी पत्नी अर्चनालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की र उनकी श्रीमती मनिषा कार्कीले बिदाइ गरे । नेपाल र भारतका सेनाध्यक्षहरुलाई एक अर्का देशको मानार्थ महारथीको दर्जा दिने परम्परा अनुसार पाण्डेलाई २० भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।
भ्रमणका क्रममा पाण्डेले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट र जङ्गी अड्‍डामा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग औपचारिक भेटवार्ता गरे । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ । पाण्डेले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको समेत भ्रमण गरेका थिए ।

पोखरा भ्रमणका क्रममा सेनाध्यक्ष पाण्डेले भारतीय पेन्सन बितरण कार्यालय पोखरामा भू.पू.सैनिक र उनका परिवारलाई सम्बोधन गरेका थिए । उनले नेपाल भारत सम्बन्ध ऐतिहासिक मात्र नभई सांस्कृतिक रुपमा पनि उत्तिकै घनिभूत रहेको बताए । जनरल पाण्डेले भारतीय भू.पू.हरुको सेवा सुबिधा र स्वास्थ्य उपचारमा सदैब ख्याल राख्ने प्रतिबद्दता पनि ब्यक्त गरे । सो अवसरमा उनले दुर्गम भेगकालागि प्रयोगमा ल्याउन ३वटा मोबाइल मेडिकल युनिट ( आई.सि.यु.) हस्तान्तरण गरेका थिए । सेनाध्यक्ष पाण्डेले भारतीय सेनामा कार्यरत रहेकै बेला ज्यान गुमाएका सेनाका परिवारलाई आर्मि ग्रुप इन्सरेन्सबाट प्राप्त रकमको चेक र वीर नारीहरुलाई कम्बल सेट प्रदान गरेका थिए । उनले बिभिन्न बहादुरी पदक बिजेता भू पू हरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै १ सय बर्ष माथिका पेन्सनरहरुलाई सम्मान पनि गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।