सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित




राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।

१७ वर्षकी किशोरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानसहित राष्ट्रिय टोलीबाट निलम्बन गरेको जनाएको छ ।

गएको मंगलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज संकलन गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच लामिछानेलाई पक्राउ गर्न आज बिहीवार जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनैपनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएको छ ।

लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।