महिलाहरु आर्थिक रुपमा सबल र सक्षम हुनुपर्छ:उपप्रमुख गुरुङ


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम नभएसम्म समाजमा स्थापित हुन कठिन हुने बताएका छन् ।

पोखरा महानगरमा सञ्चालित उपप्रमुखसंग महिला कार्यक्रम बारे नवनिर्वाचत महिला जनप्रतिनिधिसंगको अन्तर्रक्रियामा बोल्दै उहाँले महिलाहरु आर्थिक रुपमा अरुसंग निर्भर हुनेहुदाँ समाजमा पछाडी परेको बताउदै स्वरोजगार बन्नुपर्नेमा जोड दिए ।

उनले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज बन्न नसक्ने भन्दै पोखरा महानगरले उपप्रमुखसंग महिला कार्यक्रम संचालन गरेका बताए । उनका अनुसार २०७५ सालदेखि कार्यक्रम सञ्चालन हुदै आएको छ ।

२०७४ सालमा निर्वाचित भएसंगै कार्यक्रम ल्याएको भएपनि कार्यविधि निर्माणमा ढिलाई हुदाँ संचालन हुन नसकेको र ७५ सालमा कार्यविधि बनाएर निरन्तर कार्यक्रम सञ्चालन भैरहेको उनले बताए । आर्थिक वर्ष २०७५÷७६ का लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो भने त्यसपछि पनि कार्यक्रमका लागि बार्षिक २ करोड विनियोजन हुदै आएको छ ।

महिलाहरुको क्षमता अभिबृद्धि गराउदै आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशिलताको विकास गराउने उद्देश्यले कार्यक्रम ल्याएको उनको भनाई छ । लैङ्गिक हिंसालाई न्यूनीकरण गर्दै पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने कार्यक्रमले उद्देश्य लिएको छ । कार्यक्रमले महिलाहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउने विश्वास छ ।

कार्यक्रम संचालन गर्दा विपन्न, अति विपन्न, एकल, हिंसा पिडित, अपाङ्गता भएका, दलित आदिवासी जनजाति र सिमान्तकृत महिलालाई प्राथमिकता दिइने छ । उक्त कार्यक्रमका लागि आवश्यक बजेट महानगर नगर सभाले ब्यवस्था गर्ने छ ।

उक्त कार्यक्रम वडाका महिला जनप्रतिधिहरुको समन्वयमा वडाबाट गरिएको सिफारिसका आधारमा कार्यक्रम प्रदान गरिने छ । आफनो वडाको आवश्यकताका आधारमा कार्यक्रम माग गर्न महानगरका ३३ बटै वडाका महिला जनप्रतिनिधिलाई उपप्रमुख गुरुङले अनुरोध गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।