पोखरा । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने श्रमिकका विषयहरु गण्डकी प्रदेश कमिटीलाई बुझाएको छ ।
जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्री र सचिव राजेन्द्र प्रसाद पौडेलले एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मालाई घोषणापत्रमा समावेश गर्ने मजदूरका २१ बुंदे सुझाब पत्र हस्तान्तरण गरेका हुन् ।
जिफन्ट गण्डकीका अध्यक्ष खत्रीले आफ्ना सुझावहरु श्रम तथा रोजगारी सम्बन्धित रहेकाले पार्टीको घोषणापत्रमा समावेश गरिदिन नेकपा एमाले गण्डकी प्रदेश घोषणापत्र मस्यौदा समितिलाई आग्रह गरे ।
जिफन्टको २१ बुंदे सुझाव :
१) सबै जनप्रतिनिधिमूलक निकायमा श्रमिकहरूको प्रतिनिधित्वको व्यवस्था गरिनेछ । श्रमिकहरुको सरोकार भएको राज्यको अन्य निकायमा विभिन्न क्षेत्रको प्रतिनिधित्व गराउँदा श्रमिक प्रतिनिधित्व हुने व्यवस्था मिलाईनेछ ।
२) श्रम कानुनहरूको प्रभावकारी कार्यान्वयन गरी अनौपचारिक श्रम संम्बन्धलाई औपचारीकरण गरिनेछ । श्रम अडिट अर्थात श्रम संपरिक्षण प्रणालीलाई अनिवार्य गरिनेछ ।
३) योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभावकारी र अनिवार्य गरिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनका लागि आवश्यक कानून निर्माण गरिनेछ ।
४) सामाजिक सुरक्षालाई अनौपचारिक, स्वरोजगार श्रमिक तथा वैदेशिक रोजगारमा रहेका श्रमिकहरुसमेत समावेश हुन सक्ने व्यवस्था गरिनेछ ।
५) विभिन्न मुलुकको सामाजिक सुरक्षा प्रणालीसंग पारस्परिक समाजिक सुरक्षा सम्झौता गरि विदेशमा रहेका श्रमिकलाई संरक्षण प्रदान गरिनेछ ।
६) हरेक काम-मर्यादित कामको अवधारणा अनुरुप कार्यथलोमा हुने सबै प्रकारका विभेद तथा श्रम शोषणलाई अन्त्य गरिनेछ । बाँधा तथा बलपूर्वक लगाइने श्रम र बालश्रमलाई निर्मूल गरिनेछ । कार्यस्थलमा रहेको समान कामको लागि असमान पारिश्रमिकको अवशेषहरुलाई अन्त्य गरिनेछ ।
७) दक्ष र सिपयुक्त श्रमिकलाई क्रमश स्वरोजगारको हैसियतमा परिणत हुने अवसरको सृजना गरिनेछ । यसका लागि स्वरोजगार विकास वोर्ड गठन गरिनेछ ।
८) प्रदेशभरका सबै पालिकालाई स्वरोजगार बन्न चाहाने श्रमिकका लागि आवश्यक भौतिक पूर्वाधार तथा ऋण सहयोगको परिचालन गरिनेछ । प्रत्येक पालिकामा कम्तिमा एउटा व्यवसायीक प्रशिक्षण दिने विद्यालय स्थापना गरिनेछ ।
९) अहिलेसम्म मुलुकभर एउटामात्र श्रम अदालत रहेकोमा प्रदेशमा रहेका उच्च अदालतमा श्रम ईजलास गठन गरी श्रम अदालतले प्रदान गर्ने सेवा प्रदेशबाट उपलब्ध हुने व्यवस्था मिलाईनेछ । श्रम क्षेत्रमा हड्ताल तथा तालावन्दी हुन नदिन श्रम मध्यस्थता ट्राईव्युनल गठन गरि सामुहिक श्रम विवादको छिनोफानो हुने व्यवस्था मिलाईनेछ ।
१०) प्रत्येक पालिकामा श्रम डेस्क स्थापना गरी श्रमिक पंजिकरण हुने र पुँजीकृत व्यक्तिलाई सामाजिक सुरक्षा प्रणालीमा जोड्ने व्यवस्था मिलाईनेछ । स्थानिय तह मार्फत श्रमिकको आवश्यकता र उपलब्धताको अनुसन्धान र अभिलेखीकरण गर्ने, श्रमिकको दक्षता विकासका लागि तालिमको व्यवस्था गरिनेछ ।
११) स्थानीय तहमार्फत संकलन गरिएको वेरोजगारहरुलाई न्यूनतम रोजगारीको प्रत्याभूति गरिनेछ । स्थानीय तहमा वेरोजगार भएका व्यक्ति, रोजगार व्यक्तिको तथ्यांक संकलन गरी उनीहरुलाई रोजगार उपलब्ध गराउने तथा रोजगार सूचना केन्द्रमार्फत उपयुक्त रोजगारीको अवसर सृजना हुने वातावरण सृजना गरिनेछ ।
१२) प्रत्येक दुई, दुई वर्षमा वृद्धि भएको पारिश्रमिक सवै श्रमिकले पाउने अवस्था सृजना गरिनेछ । हाल सम्म श्रम शोषणको चपेटामा परेका तालिमेलाई तलव पाउने अवस्था सृजना गरिनेछ । वैदेशिक रोजगारीको नाममा भइरहेका मानव तस्करी तथा ठगी जन्य अपराधलाई कडाइका साथ नियन्त्रण गरिनेछ । वैदेशिक रोजगारीमा गएकाहरूको अभिलेख राखी त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरिनेछ ।
१३) वैदेशिक रोजगारीमा जानेहरूलाई आवश्यक तालिम र प्रशिक्षणद्वारा सीपविकास गरेर मात्रै वैदेशिक रोजगारीमा पठाउन आवश्यक व्यवस्था गरिनेछ । नेपाल र गन्तव्य मुलुकबीच द्विपक्षीय श्रम सम्झौताको माध्यमवाट विदेशी भूमिमा हुने श्रम शोषणलाई नियन्त्रण गरिनेछ ।
१४) देशमा प्राप्त हुने विप्रेषणको ठूलो हिस्सा राष्ट्रिय उत्पादनमा लगाइनेछ । वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले प्राप्त गरेको सीप तथा नेपाल भित्रै स्वअध्यनबाट प्राप्त शिपलाई प्रमाणीकरण गरी प्रदेश निर्माणमा उपयोग गरिनेछ ।
१५) कार्यस्थल दुर्घटना तथा व्यवसायजन्य रोगवाट श्रमिकलाई जोगाउन कानूनमा भएको व्यवस्थालाई कडाईको साथ पालना गराईनेछ । कार्यस्थलमा मेसिन औजार तथा रासायन प्रयोग हुने प्रतिष्ठानमा काम गर्नु अगाडि सेवा प्रवेश–तालिम दिनुपर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ ।
१६) कोभिड तथा यस्तै महामारीबाट पीडित श्रमिकलाई राहत प्रदान आवश्यक कानूनी संरचना मिलाइनेछ ।
१७) स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई कार्यस्थलवाट मतदान दिन पाउने व्यवस्था गरिनेछ ।
१८) सडक व्यापारमा संलग्न श्रमिकको समस्या समाधान गर्न पालिका संगको समन्वय र सहकार्यमा निर्दिष्ट स्थानमा निश्चित समयसम्म व्यवसाय संचालन गर्न पाउने कानूनी व्यवस्था मिलाइनेछ ।
१९) नेपालको संविधान बमोजिम संघीय सरकार तथा प्रदेश सरकारको साझा सूचीमा परेको हुनाले संघीय कानूनले निर्धारण गरेको अधिकारमा फरक नपर्ने गरी कानून कार्यन्वयन सम्वन्धित व्यवस्था गर्ने अधिकार प्रदेश सरकारमा रहने गरी आवश्यक कानूनी संरचना तयार गरिनेछ ।
२०) विधमान श्रम प्रशासनलाई पुनरसंरचना गरिनेछ । प्रदेश सरकार र स्थानीय तहमार्फत हुने कामहरु सुनिश्चित गरिनेछ । वैदेशिक रोजगार र श्रम प्रशासनको काम फरक–फरक भएको हँुदा तदअनुकुल कामको विन्यास गरी श्रम प्रशासनलाई श्रम कानून कार्यान्वयनमा संलग्न गराईनेछ ।
२१) श्रम बजारलाई सुमधुर र व्यवस्थित गर्न श्रम सम्बन्धित आवश्यक ऐन कानून र त्रिपक्षीय संयन्त्र निर्माण गरिनेछ ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







