हिस्टुन शिक्षकहरुको मागप्रति महानगर सहमत: प्रमुख आचार्य


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित




पोखरा महानगर प्रमुख धनराज आचार्यले माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल
(हिस्टुन ) का शिक्षकहरुको मागप्रति महानगर सहमत रहेको जनाएका छन्।

पोखरा महानगर हिस्टुनको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले शिक्षकहरुको प्रतिनिधि मण्डलले पोखरा महानगरमा पेश गरिएको मागसँग आफू सहमत भएको बताएका हुन्।

शिक्षकहरुले आफ्ना पेशागत हक हित सुनिश्चितता गराउन आन्दोलन गर्दा शिक्षकहरुले आफ्नो कर्तव्यलाई विर्सन नहुने पनि बताए। शिक्षकहरुको जायज मागहरु भएको बताउँदै सरकारको तहमा छलफल गरेको बताए।

पोखरा महानगरको मात्रै डेढ अरब बजेट शिक्षामा गएको बताउँदै सोंचेअनुसार शिक्षालाई अगाडी बढाउन नसकिएको कुरालाई गंभीरतापूर्वक छलफल गर्न पनि प्रमुख आचार्यले आग्रह गरे। गुणस्तरीय शिक्षामा के कसरी सुधार गर्न सकिन्छ भन्ने कुरालाई संस्थागत रुपले छलफल गर्न पनि आग्रह गरे।

यसैगरी, शिक्षा महाशाखाका प्रमुख हेमराज आचार्यले शिक्षकहरुले आफ्ना पीडाहरुलाई कक्षा कोठामा नदेखाई आफ्नो जिम्मेवारी गर्नु भएको आफूले अनुभुति गरेको बताए। हिस्टुन शिक्षकहरुका मागप्रति पनि आफ्नो समर्थन रहेको बताए। पीडा सँगसँगै पाठयक्रम एकातिर र सिकाई अर्कोतिर भयो भने नतिजा सोंचेअनुसारा नआउने बताउँदै पेशागत हक हित सँगसँगै आफ्नो पेशा बच्चाप्रति हो भन्ने कुरालाई पनि नविर्सन समेत आचार्यले आग्रह गरे।

यसैगरी, हिस्टुन केन्द्रका अध्यक्ष दिपक सुवेदीले साविक उच्च माविमा पढाउने शिक्षकहरुले आफ्नो जिम्मेवारीलाई पूरा गरेको कुरा नतिजाले देखाएको बताए। सरकारले माध्यमिक शिक्षा निशुल्क भनेपनि कक्षा ११ र १२ मा शुल्क लिन बाध्यता भएको बताए। राज्यको नितिगत हिसावले व्यवहारिकता नभएको बताउँदे एउटै तहमा दुइ पटक रजिष्ट्रसन गर्नुपर्ने गाइजात्रापाराले माध्यमिक तह सञ्चालन भएको आरोप लगाए।

शिक्षा क्षेत्रमा भएका समस्याहरुलाई समाधानका उपायहरु सम्बन्धित निकायसँग राख्दा पनि राज्यले समाधान गर्नेतर्फ नलागेको बताए।

साविक उच्च मा.वि.कक्षा ११ र कक्षा १२ मा पढाउने शिक्षकहरु पीडामा रहेको बताउँदै संस्थागत विद्यालयको अगाडि राज्य निरिह बनेको आरोप लगाए। आफ्ना जायज मागहरु सम्बन्धित क्षेत्रमा प्रस्तुत गरेको बताउँदै शिक्षकहरु जिम्मेवारीपूर्वक प्रस्तुत हुने र समाधानका उपायहरु आफूसँग भएको बताए। शिक्षा क्षेत्रमा भएका समस्याहरुलाई समाधान गर्न जिम्मेवारी बन्न शिक्षा मन्त्रलायलाई आग्रह गरे।

कार्यक्रममा हिस्टुन केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज शिवलाल उपाध्याय, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिव रामप्रसाद पोखरेल, हिस्टुन पोखरा महानगरका सल्लाहकार पदम दवाडी, शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेल, हिस्टुन कास्की जिल्ला अध्यक्ष चक्रपाणि सुवेदी, एकीकृत शिक्षक संगठन पोखरा महानगरका अध्यक्ष टंक सुवेदीलगायतले हिस्टुन शिक्षकहरुको पेशागत हकहितबारे बेलेका थिए।

हिस्टुन पोखरा महानगरका निवर्तमान अध्यक्ष देवराज शर्माको अध्यक्षतमा भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष माधव अधिकारीले स्वागत र निवर्तमान सह–सचिव सत्यराज कंडेलले कार्यक्रम संचालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।