रामपुरका बाख्रा पाल्ने कृषकलाई अनुदान


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित





रामपुर । हुमीकुमारी पाँडे मगरले गत आर्थिक वर्षमा आफूले उत्पादन गरेका खसी बोका बिक्री गरेबापत रु १९ हजार दुई सय पाँच अनुदान रकम बुझे । सो रकम पाउँदा उनलाई व्यवसायमा हौसला बढेको छ । पाल्पाको रम्भा गाउँपालिका–२ स्थित फोक्सिङकोट बस्ने हुमीकुमारीलाई सो अनुदान रकम उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले प्रदान गरेको हो ।

उनले सात सय ६५ किलो खसी बोका गएको एक वर्षमा बजारमा बिक्री गरेका छन । सोबापत प्रतिकिलो रु २५ रकम अनुदान बुझ्दा उनी दङ्ग छन । सहकारीमा आबद्ध कृषकलाई पालिकाको सहयोगमा धेरै खसी बोका तथा स्थानीय जातका कुखुरा उत्पादन गरेर जिउँदो बिक्री गर्नेलाई उपलब्ध गराइएको छ ।

व्यावसायिकरुपमा लागेका कृषकलाई अनुदान रकमले राम्रो गर्छु भन्ने ऊर्जा थपिदिएको उनको भनाइ छ । उनको घरमा हाल ३० माउँ बाख्रासहित हाल ६५ बाख्रा छन् । कोही बिक्री गर्ने खालका, कोही साना–साना पाठापाठी छन् । उनले दसैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर उत्पादन गरेका छन ।

हुमीकुमारीजस्ता यहाँ धेरै महिलाले आफूले उत्पादन गरेका खसी बोका, स्थानीय जातका कुखुरा उत्पादनका आधारमा अनुदान रकम पाउँदा खुसी छन् । अहिले गाउँमा कसले धेरै कुखुरा बाख्रा उत्पादन गर्ने एकापसमा प्रतिस्पर्धा छ । उत्पादनमा आधारित अनुदान रकम दिन थालेपछि महिलाको बाख्रा तथा कुखुरापालनमा आकर्षण बढ्दै गएको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष गङ्गीसरा सिञ्जाली बताउछन ।

गत वर्ष दुई सय तीन कृषकमध्ये खसी बोका बिक्री गर्ने एक सय ६० र स्थानीय जातका कुखुरा बिक्री गर्ने ४३ जनालाई अनुदान वितरण गरिएको उनले जानकारी दिए । उनका अनुसार रु सात लाख २६ हजार चार सय ७५ बराबरको अनुदान रकम सहकारीले कृषकलाई उपलब्ध गराएको छ ।

फोक्सिङकोट गाउँबाट एक वर्षको अवधिमा २७ हजार एक सय ४१ किलो जिउँदो खसी बोका र एक हजार नौ सय १८ किलो कुखुरा बिक्री गरिएको छ । उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि निर्माण गरेर तीन वर्षदेखि अनुदान दिन थालेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

उनका अनुसार अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक छवटा संस्थाले पालिकासँग सम्झौता गरेको छ । जिउँदो खसी बोका तौलेर बेच्नेलाई मात्रै उत्पादनका आधारमा पालिकाबाट अनुदान दिने गरिएको छ । प्रतिकिलो रु ५० कृषकले पाउने र खसी बोका बिक्री गरेबापत सम्बन्धित संस्थालाई रु दुई रकम उपलब्ध गराइँदै आएको अध्यक्ष भण्डारी बताउछन ।

हाललाई तीनवटा संस्थालाई मसलन्द खर्चबापत वार्षिक रु १५÷१५ हजार रकम दिने गरिएको छ । बाख्रापालनमा पालिकाले उत्पादन वृद्धि गर्न र कृषकलाई व्यावसायमा निरन्तरता दिन प्रोत्साहनस्वरुप अनुदान दिने कार्यक्रम ल्याएको हो । यस्ता कार्यक्रमबाट कृषक प्रत्यक्ष लाभान्वित हुने हुदा निरन्तररुपमा पालिकाले अगाडि बढाउनुपर्ने फोक्सिङकोटका स्थानीयवासी तथा शिक्षक एवत सारुले बताए । यहाँका महिलाको दैनिकी हिजोआज बाख्रापालनमा बितेको छ ।

सहकारीले गाउँबाटै खसी बोका, कुखुरा जिउँदो तौलेर बिक्री गरिदिने व्यवस्थाले कृषकलाई बिक्रीको झण्झट छैन । बर्सेनि ठूलो सङ्ख्यामा खसी बोका विभिन्न बजारमा निर्यात हुने गरेको छ । फोक्सिङकोट क्षेत्र बाख्रा उत्पादनका क्षेत्रका रुपमा चिनिएको छ ।

दुई चार पैसाका लागि अरुको निर्भर रहने महिला अहिले बाख्रापालन गरेर आफैँ स्वावलम्बी बनेका छन् । हेफर परियोजना नेपालले गाउँ–गाउँमा बाख्रापालनमा सहयोग गर्न थालेपछि करिब सात वर्षयता ग्रामीण भेगका महिलाले व्यवसायीकर्तालाई जोड दिँदै गएका छन् । यहाँका महिलाले व्यवसाय विस्तार गर्दै जाँदा अहिले परिवारको दरिलो आम्दानीको स्रोत नै बाख्रापालन व्यवसाय बनेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।