गण्डकी विश्वविद्यालयमा खेल व्यवस्थापन विषयको पठनपाठन


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित





अन्नपूर्ण कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकका लेखनाथ लम्साल ४६ वर्ष पुगे । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह छैन । बस्तुभाउलाई कँुडोपानी र घाँसको बन्दोबस्त गरी एकाबिहानै पोखरा झर्नु उहाँको दैनिकी हो । उमेर छिप्पिदै गए पनि अध्ययनका लागि घाचोक–पोखरा यात्रा एक घण्टा लगाएर छिचोल्छन ।

गण्डकी विश्वविद्यालयले गत वर्षदेखि सुरु गरेको व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट खेल व्यवस्थापन, बिएसएमको पहिलो सेमेस्टरमा अध्ययनरत छन, लम्साल । सानैदेखि भलिबलप्रति रुचि राख्ने उनी खेलकुद व्यवस्थापनको पढाइ पूरा गर्न लागि परेका छन । खेल क्षेत्रमै केही गर्नुपर्छ भन्ने लक्ष्य बोकेर हिँडेका लम्साल विश्वविद्यालयले सो कक्षा सुरु गरेको खबरले उत्साहित छन ।

अग्रज, अनुज र खेल क्षेत्रकै दिग्गजहरुको सल्लाहमा उनी बिएसएममा भर्ना भएका छन। उनी अहिले दोस्रो सेमष्टरमा अध्यनरत छन । पढेर दक्ष खेलाडी उत्पादन गर्ने र आफैँले तालिम केन्द्र खोल्ने योजना उनले सुनाए । खेलकुदमा विकृति बढ्दै गएकाले त्यस्तो विकृति रोक्न शिक्षा आवश्यक रहेको उनको भनाइ छ ।

एक खेलाडी र कुशल प्रशिक्षकका लागि संस्कृति र उत्पे्ररणा पनि आवश्यक रहेको उनले बताए । नेपालमै पहिलोपटक सुरु खेल व्यवस्थापनमा उनी जस्तै २१ जना अध्ययनरत छन् । पहिलो सेमेष्टरमा १२ र दोस्रो सेमेष्टरमा नौ विद्यार्थी छन् । त्यहाँ पढ्नेको उमेर १८ देखि ४६ वर्षसम्मको छ भने उनीहरु छुट्टाछुट्टै खेलसँग सम्बन्धित छन ।

नेपालको महिला भलिबलकी कप्तान अरुणा शाहीसँगै अन्य खेलका खेलाडी र खेल क्षेत्रमा भविष्य सोच्नेले बिएसएम पढिरहेका छन । अध्ययनपछि काम गर्ने क्षेत्र धेरै भएका कारण पनि प्रदेशले यसतर्फ चासो देखाएको हो । नेपालमा यो पढाइ सकेपछि धेरै सम्भावना रहेकाले गण्डकी विश्वविद्यालयले पढाइ सुरु गरेको बिएसएमका संयोजक डा मधुसुदन सुवेदीले बताए ।

डा सुवेदी पनि भारतबाट खेलकुद विषयमा विद्यावारिधि गरेर बिएसएमको संयोजकको जिम्मा लिएका हुन । बिएसएममा जुनसुकै सङ्कायमा १२ पास गरेको भर्ना हुन सक्छन् । चारवर्षे सेमेस्टर प्रणालीअनुसार आठ सेमेस्टरमा पढाइ हुने उनले बताए । प्रदेश सरकारको विशेष सहयोगमा कम खर्चमा उक्त पढाइ सञ्चालन भइरहेको उनको भनाइ छ ।

चार वर्षे पढाइ सक्दा रु तीन लाख ८० हजार लाग्ने उनले जानकारी दिए । एक सेमेष्टरमा ४० जनाको कोटा भए पनि अहिले सोचेजस्तो विद्यार्थी भर्ना नभएको संयोजक डा सुवेदीले जानकारी दिए । अहिले तेस्रो सेमेष्टरको भर्ना प्रक्रिया सुरु भएको छ । तेस्रो समेष्टरका लागि धेरै जनाबाट फोन, म्यासेज, इमेल आएको उनले बताए ।

अबको सेमेष्टरमा ४० वटै कोटा पुग्ने गरी भर्ना हुने उनको अनुमान छ । नेपालमै पहिलोपटक गण्डकी विश्वविद्यालयले सञ्चालन गरेको यो कोर्ष भने भाडाको भवनबाट सञ्चालन भईरहेको छ । पोखरा १८ हिमाली टोलमा रहेको फिस्टेल एकेडेमीको पुरानो भवन भाडामा लिएर कक्षा सञ्चालन गरिरहेको पोखरा विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले जानकारी दिए ।

योसँगै पोखरा विश्वविद्यालयअन्तर्गत पढाइ हुने सबै विषयलाई स्तरीय बनाउन भवन निर्माणको काम चलिरहेको प्रा डा गुरुङले बताए । नेपाल सरकारबाट जग्गा प्राप्तिपछि पोखरा ३२ ज्ञानकुञ्जमा विश्वविद्यालयको भवन शिलान्यास गरेर काम अघि बढेको छ ।

विश्वविद्यालयअन्तर्गत अहिले ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट, फार्मेसी, आइटी, बिबिए र बिएएलएलबिको कक्षा सञ्चालन गरिएको छ । विश्वविद्यालयले आगामी दिनमा मेकानिकल इन्जिनियरिङ, माउण्टेनिङ एग्रीकल्चर र खानी इन्जिनियरिङको विषयमा पढाइ सुरु गर्न छलफल चलिरहेको कुलपति प्रा डा गुरुङले जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।