मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित





काठमाडौँ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ÷ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सो प्रणालीको सुरुआत गरे ।

प्राधिकरणले एमडिएमएस प्रणाली सुरु गरेसँगै विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्थासमेत गरेको छ । प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए÷नभएको यकिन गरी मात्र खरिद गर्नुहुन अनुरोध गरेको छ ।

सोही अवसरमा मन्त्री कार्कीले एमडिएमएस प्रणालीले अवैधरूपमा खरिद बिक्रीको कार्यलाई रोक्ने र मुलुकको अर्थतन्त्र र मोबाइलको व्यापारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । वर्तमान सरकार नीति क्षेत्रलाई प्रोत्साहित गर्न चाहेको र निजी क्षेत्रसँग हातेमालो गरेर मात्रै मुलुकलाई समृद्ध बनाउने नेपालीको अभिलाषा पूरा हुने उनको भनाइ थियो ।

उनले केही समयअघि नेपालको अर्थतन्त्रको अवस्था श्रीलङ्काको जस्तो हुन लागेको भनी भ्रम सिर्जना गर्न खोजिएको भन्दै मुलुकको अर्थतन्त्रप्रति सरकार सचेत रहेको प्रष्ट पारे । मन्त्री कार्कीले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा समुन्नत नेपाल, समृद्ध नेपाली र आगामी १० वर्षभित्रमा कम्तीमा दक्षिण एसियामा सम्पन्न मुलुकमध्येका नेपाली चिनाउने अभियान लिएर जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गरे ।

सूचना, सञ्चार र प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भ उल्लेख गर्दै एमडिएमएस प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले एमडिएमएस प्रणाली सुरु गरेसँगै आउने विविध समस्यालाई पनि सँगै समाधान गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मोबाइल आयातकर्ता÷विक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न अपिल गरे । सामसुङ मोबाइलको व्यापार गर्दै आएको आइएमस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले एमडिएमएस प्रणालीले मोबाइल बिक्री वितरण क्षेत्रलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।