विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुँदै


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०७९ मा प्रकाशित





पोखरा । विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते घटस्थापना देखि नवमीसम्म उक्त महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्नुहुने सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुने उनले बताए । पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ ।

महोत्सव अवधिभर रात्रिकालीन आरतीसमेत गरिने भएको छ । विजया दशमीको दिन बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खुला गरिने समितिले जानकारी दिएको छ । धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीले बताए ।

पछिल्लो समय मन्दिरमा भेटी सङ्कलन कम हुँदै गएको समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । आम्दानीको मुख्य स्रोत नै भेटी भएकाले कोरोनाका कारण यसमा ह्रास आएको उनको भनाइ थिायो ।

कोरोनाभन्दा अघि दैनिक रु एक करोडदेखि डेढ करोड आम्दानी हुने गरेकामा पछिल्लो समय घटेर रु ६० हजारको हाराहारीमा पुगेको थियो । भक्तजनले चढाएको भेटीबाटै समितिले पुजारी र कर्मचारी व्यवस्थापनसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको थियो । मन्दिरमा १० पुजारी र व्यवस्थापनमा ४५ कर्मचारी छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।