रामपुर । जिउँदो सहिदका नामले परिचित नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि आन्द्राको क्यान्सर रोगबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा बिहीबार साँझ ८ः३० बजे काठमाडौँस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
दुई हप्ताअघि स्वास्थ्यमा थप समस्या आएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । विसं २०५६ मा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बनेका घिमिरे २०७४ को निर्वाचनमा उम्मेदवार थिए । विसं २०२५ मा पाल्पाको रामपुर नगरपालिकामा जन्मेका भएका घिमिरे विद्यार्थी जीवनदेखि नै आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन ।
विसं २०३६ बाट राजनीतिमा सक्रिय भएर निरन्तर लागेका घिमिरे २०३७ मा नेविसङ्घ रामतुल्सी माध्यमिक विद्यालय रामपुर कमिटीमा सचिव, काठमाडौँस्थित अमृत साइन्स क्याम्पसको स्ववियु सदस्य पदमा निर्वाचित भएका थिए । यस्तै २०४४ मा कांग्रेस पाल्पाको जिल्ला सदस्य, २०४६ मा नेविसङ्घको जिल्ला सचिवको जिम्मेवारी लिएर काम गरेका थिए ।
उनी २०४६ मा भएको जनआन्दोलनको पाल्पाको पूर्वी क्षेत्रको नेतृत्व गर्ने साहसी र इमान्दार नेताका रुपमा चिनिन्छन । पहिलो जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते पाल्पाको रामपुरमा जनप्रदर्शनको नेतृत्व गर्ने क्रममा उनलाई हानेको गोली लागेर दाजु सहिद सूर्यप्रसाद घिमिरेको निधन भएको थियो ।
त्यसकारण पनि उनलाई विसं २०४६ देखि यता जिउँदो सहिद भनेर चिनिन्छ । त्यतिबेला २१ वर्षको उमेरमा आन्दोलनको नेतृत्व गरेका घिमिरेले त्यसपछि पनि लगातार राजनीतिमै सक्रिय रहेका थिए । घिमिरेले २०४८र२०४९ मा कांग्रेसको जिल्ला सचिव, नेविसङ्घको जिल्ला सचिव र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु सचिव भएर काम गरेका हुन ।
वरिष्ट चार्टर्ड एकाउन्टेनसमेत रहेका घिमिरेले बीमा समितिमा समेत रहेर काम गरेका थिए । उनमा २०७४ को निर्वाचनपछि आन्द्रामा क्यान्सर देखिएपछि नियमित उपचार गराउँदै आएका थिए । पछिल्लो समय फोक्सोमा समेत समस्या देखिएपछि काठमाडौँ तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए ।
राजनीतिमा स्वच्छ छवि बनाएका घिमिरेको निधनले पार्टीमा ठूलो क्षति पुगेको नेपाली कांग्रेस पाल्पा सभापति हिमालदत्त श्रेष्ठले बताए । उनको निधनले कांग्रेस पाल्पालाई मात्र नभई सिङ्गो पाल्पालीलाई स्तब्ध बनाएको छ ।
पार्थिक शरीरलाई शुक्रबार दिउँसो १ बजे पशुपति स्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्य समितिका सदस्य कल्प पौडेलले बताए । घिमिरेका आमा, श्रीमतीसहित दुई छोरा र एक छोरी छन ।
अन्त्येष्टिअघि आर्यघाटमै शोकसभाको आयोजना गरिने र पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुलेसमेत श्रद्धाञ्जली दिने कार्यक्रम रहेको बुझिएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






