एएफसी यु–२० एसियन कप छनोटः नेपालले अन्तिम खेल खेल्दै


     एभरेस्ट आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित




बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोटमा खराब प्रदर्शन गरेको नेपालले आज (आइतबार) अन्तिम खेल खेल्दैछ ।

सान्त्वना जितको लक्ष्यसहित नेपालले बंगलादेशविरुद्ध खेल्न लागेको हो ।

यसअघि, लगातार ३ खेल हारेको नेपाल बंगलादेशविरुद्ध आज पहिलो जितको खोजीमा रहनेछ । नेपालको खेल शेख अलि बिन मोहमद अल खालिफा रंगशालामा राति राती ८ः४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानसँग २–० ले पराजित बनेको थियो । दोस्रो खेलमा कतारसँग ३–१ ले पराजित भएको नेपाल तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० ले हारेको थियो ।

बंगलादेशले पहिलो खेलमा बहराइनलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो । बंगलादेश तेस्रो खेलमा कतारसँग ३–० ले पराजित बनेको थियो ।

आज समूह ‘बी’को शीर्ष स्थानमा रहेको कतार र बहराइन पनि खेल्दैछन् । कतारले बहराइनलाई हरायो र बंगलादेशले नेपाललाई हरायो भने बंगलादेशको गणतीय संभावना कायम रहन्छ । त्यसकारण आज बंगलादेश कुनै पनि हालतमा नेपालमाथि जित निकाल्न चाहन्छ ।

समूह ’बी’ मा कतार ९ अंकका साथ शीर्ष स्थानमा छ भने बहराइनले ७ अंक जाडेको छ । बंगलादेश ४ अंकका साथ तेस्रो स्थानमा छ । भुटानले ३ अंक जोडेको छ भने नेपाल अंकविहीन रहँदै समूहको पुछारमा छ ।

दश समूहका विजेता टोली र उत्कृष्ट ५ उपविजेताले सन् २०२३ मा उज्वेकिस्तानमा हुने एएफसी यु–२० एसियन कपमा स्थान बनाउनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।