बाढीले स्वास्थ्य सामग्रीमा क्षति


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित





दोधारा चाँदनी । कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बाढीले आठ लाख बराबरको स्वास्थ्य सामग्रीमा क्षति गरेको छ । शुक्रबारदेखि वर्षाले लालझाँडी गाउँपालिकामा रहेको स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा स्वास्थ्य सामग्रीमा क्षति भएको गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक दशरथ रानाले बताए ।

उनका अनुसार स्टोरमा रहेका सिटामोल, जीवनजल, आरयुटियस बच्चालाई खुवाउने औषधि, स्लाइन पानी र इन्जेक्सनलगायत अति आवश्यक औषधि डुबानमा परेर क्षति भएको छ । उनका अनुसार रु ८० हजारको सिटामोलमा नोक्सानी भएको छ भने एक लाख बराबरको जीवनजलमा नोक्सानी पुगेको छ । त्यसैगरी रु एक लाख बराबरको प्यारासिटामोलमा नोक्सानी पुगेको छ ।

१० हजारको भाइरेक्स र २० हजार बराबरको आरयुटियस, रु ४० हजार बराबरको कोभिड–१९ किट,४५ हजारको स्नानिटाइजर, एक लाखको अक्सिजन कन्सेन्ट्रेटरमा क्षति भएको छ ।

त्यसैगरी इन्जेक्सनलगायत अन्य औषधिमा गरी आठ लाख बराबरको औषधि क्षति भएको उनले बताए । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जिल्लामा क्षतिको पूर्ण विवरण नआएको जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।