सञ्चालनमा आएनन् सुपथ मूल्य पसल


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित





बैतडी । सरकारले दसैँ, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा अन्यौल देखिएको छ । सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनिए पनि सुदूरपश्चिमका कुनै पनि स्थानमा सञ्चालनमा नआएका साल्ट्रटेडिङग कर्पोरेसन धनगढीप्रदेश कार्यालयका सहायक रामचन्द्र जोशीले जानकारी दिए ।

सुपथ मूल्य पसल सञ्चालनका लागि अहिलेसम्म पनि परिपत्र नआएकाले परिपत्रबिना सञ्चालन गर्न नसकिने जनाइएको छ । परिपत्र आउनसाथ सुपथ मूल्य पसल सञ्चालनमा आउने सहायक जोशीको भनाइ थियो । विगतका वर्षमा दसँैं, तिहार, छठसहितका चाडपर्वलाई लक्ष्य गरी सुदूरपश्चिमका सात स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो ।

चाडपर्वमा त्यस्ता पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि यहाँ सञ्चालनमा नआउँदा समस्या भएको छ । कर्पोरेसनले विगतका वर्षमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दसँैं, तिहार तथा छठलाई लक्ष्य गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरिएकोे थियो ।

यस्ता पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी,नून चामलका साथै अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो वर्ष असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।