कोइला अभावले आरन व्यवसायमा चुनौती


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित





दोधारा चाँदनी । कोइलाको अभावले आरन व्यवसाय विस्तारमा समस्या देखिएको छ । आरन व्यवसायबाट जीविका चलाउँदै आएका समुदायको पुख्र्यौंली पेसा कोइलाको अभावमा अहिले विस्तार गर्न समस्या देखिएको हो । पुख्र्यौली पेसा आरन व्यवसायबाट जीविका चलाउँदै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीका गणेश तिरुवा कोइला अभावले आरन व्यवसाय बन्द हुने अवस्थामा पुगेपछि चिन्तित बनेका छन ।

आरन व्यवसायबाटै दुई छोराछोरीको पढाई र घरखर्च चलाइरहेका उनी पछिल्लो समय कोइला नपाउँदा गरिखाने पेसा नै बन्द हुने अवस्थामा पुगेको बताउँछन । सामुदायिक वनले जङ्गल पस्न निषेध गरेपछि कोइला अभाव हुन थालेको उनले बताए । आरन व्यवसायको विकल्प नहुँदा पछिल्लो समय रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको रोशन तिरुवाले बताए ।

आरन व्यवसायबाटै घरखर्च सञ्चालन गर्न समस्या हुन थालेपछि भारत जान थालेको उनले बताए । स्थानीय सरकारले पुख्र्यौली पेसा जोगाउन सहयोग गर्ने प्रतिबद्धता गरे पनि सहयोग हुन नसकेको स्थानीय रतनसिंह ठगुन्नाले बताए ।

कोइला पाउन छोडेपछि गाउँमा दैनिक कृषि काममा आवश्यक पर्ने हँसिया, कुटो, कोदालोलगायत सामान बनाउन समस्या भएको स्थानीय बताउँछन् । कृषिमा उपयोगी सामग्रीका धार साँध्नलाई समेत आरन अत्यावश्यक पेसा हो ।

हँसिया, कुटो, कोदालोलगायतका सामग्री कृषि कार्यका लागि मात्र नभई आरनबाट उत्पादित ऐतिहासिक तरबार, त्रिशूल, विभिन्न कलात्मक भगवानका मूर्ति बनाउने गरेको स्थानीय बताउँछन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।