बलेवा । चाडपर्व नजिकिएपछि अधिकांश स्थानीय तहले वर्षाका कारण बिग्रिएका सडक मर्मतको काम थालेका छन् । वर्षाका समयमा बाढी र पहिराका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि स्थानीय तहले दसैँ अगाडि नै सडक मर्मतको काम पूरा गर्नेगरी मर्मत थालेका हुन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिने मुख्य सडक र पालिकामुकाम जोड्ने स्थानीय सडकको मर्मतको काम थालिएको जैमिनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम आचार्यले बताए । जैमिनीले बागलुङ–कुश्मीशेरा सडकको कुश्मीशेरा सरङ्गे खण्ड मर्मतको काम सकिएको छ ।
सबै वडामा वडाध्यक्षको सक्रियतामा सडक मर्मतको काम भइरहेको उनले बताए । अर्को बर्खा नलाग्ने बेलासम्मका लागि सडक सहज हुनेगरी मर्मत गरिएको जनाइएको छ । मुख्य चाडबाड नजिकै आइरहेका बेला ओहोरदोहोर गर्न सवारीमा यात्रुको चाप बढ्ने र त्यो बेलामा सडकको अवस्था राम्रो नभएमा दुर्घटनाको डर हुने भएकाले मर्मत गर्नुपरेको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए ।
सवारी नै नचल्ने र चले पनि दुर्घटनाको जोखिम बढी हुने भएकाले नगरपालिकाले दसैँअगावै सडकलाई सञ्चालनमा ल्याउन लागिएको बताएको छ । बरेङ गाउँपालिकाले पनि दशैँ लक्षित सडक मर्मतको काम थालेको छ । हरेक वर्ष वर्षा सकिएसँगै स्थानीय सडकको मर्मत गर्दै आएको गाउँपालिकाले यस वर्ष पनि मर्मतको काम थालेको हो ।
काठेखोला गाउँपालिकाले हरेक वडालाई दुई लाख रुपैयाँ बजेट दिएर सडक मर्मत गर्न लगाएको छ । वडाले नै परिचलान गरेर मर्मत भएको सडक संरक्षण हुने भन्दै गाउँपालिकाले अधिकार प्रत्योजन गरेको हो । बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्रभन्दा बाहिरका वडामा सडक मर्मतको काम थालेको छ ।
नगरपालिकासँग जोडिएका, अन्तर वडामा विस्तार गरिएका तथा सदरमुकामसँग जोडिएका धेरै सडक कच्ची नै रहेका कारण वर्षाले हरेक वर्ष सडकमा क्षति हुने गरेको छ । यस वर्ष नगरपालिकाभित्रका विभिन्न ठाउँका सडकको अवस्था सुधार गर्नुपर्ने भनी नागरिकबाटसमेत माग आएकाले सडकलाई दसैँ अगाडि नै सहज बनाउने तयारीमा आफूहरू रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।
बागलुङ नगरपालिका–१० दवल्याङमा रहेको पहिरामा सडक खुलाउने विषयमा समेत नगरपालिका लागिरहेको उपप्रमुख राजु खड्का बताउछन । गत वर्ष खसेको पहिरो नरोकिँदा वर्षाभरि नै बागलुङ कुश्मीशेरा सडक र कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड अवरुद्ध हुने गरेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







