बागलुङ । हिउँद्मा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् । करिब चार महिना बेँसी सुनसान जस्तै हुन्छ । बर्खा रोकिएर चाडपर्व शुरु भएसँगै उनीहरु बेँसी झर्न शुरु गर्छन् ।
चार महिनादेखि सुनसान भर्कोबाङमा यतिबेला निकै रौनक छाएको छ । वडा नं ६ मा पर्ने भर्कोबाङमा सयौँ वस्तुभाउ र मानिसको चहलपहल छ । मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको पहाडको थुम्को भर्कोबाङ मा स्थानीयवासीले आफ्ना पशु चौपायालाई लेकबाट झारेका छन् । असोज ५ गतेभन्दा अगाडि कसैले पनि बेँसीमा पशु चौपाया झार्न नपाउने नियम छ ।
मकै भित्राइसकेपछि अहिले यो ठाउँ खुल्ला र हरियाली छ । अब केही दिन स्थानीयका सयौँ पशु चौपाया यहीँ हुनेछन् । लेकबाट झरेका सयौँ पशु चौपायाले भर्कोबाङको पाटाहरु भरिएका छन् । ती पाटाहरुमा सयौँको सङ्ख्यामा गाई, गोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राहरु निकै रमाइरहेका देखिन्छन् ।
गोठालाहरुले पाटाहरुको छेउछाउतिर गोठ बनाएका छन् । उनीहरु अब केही दिन यहीँ गोठमा दिन रात बिताउने छन् । असोज ५ गते भल्कोटवासीले विशेष दिनका रुपमा पनि लिइन्छ । महिनौदेखि परिवारसँग छुटेकाहरु पनि अब भेट हुन्छन् । असोज ५ गते नै अधिकांश गोठलाहरु बेँसी झर्ने गर्छन् भने केही विस्तारै दशँैसम्म आउँछन् ।
स्थानीयवासीले लेक जाँदा महिनौंलाई पुग्ने खर्च बोकेर जाँने हुँदा बेँसी झेरपछि मात्रै परिवारसँग भेट हुने गर्छ । लेकबाट सयौँ पशु चौपाया बेँसी झरेपछि दशँै आएको सन्देश दिन्छ । यहाँका एक परिवारले दजनौँ पशु चौपाया पाल्ने गर्छन् । वस्तुभाउलाई घाँस पु¥याउनकै लागि उनीहरु लेकमा लैजाने गर्छन् ।
करिब चार÷पाँच महिना लेकमा बिताउँदा उनीहरुले चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने, घ्यू उत्पादन गर्ने र बेच्ने गर्छन् । यसरी नै जीविकोपार्जन गर्दै आएका स्थानीयहरु अहिले पनि परम्परागत पशुपालनमै रम्न चाहन्छन् । स्थानीय वासिन्दाले लेक वैशाखदेखि नै जान पाउने व्यवस्था गरे पनि बेँसी झर्न असोज ५ नै कुर्नु पर्ने नियम बनाएका छन् ।
उनले असोज ५ गतेभन्दा पछाडि आउँदा जरिवाना नलाग्ने स्थानीय बताउछन । बुढा मगरले धेरैजसो गोठालेहरु असोज ५ मा नै बेँसी झर्ने र भेडी गोठालेहरु मात्रै केही समयपछि मात्रै बेँसी झर्ने बताए । उनले महिनौँलाई पुग्ने खर्चपर्च बोकेर लेक जाने र समय–समयमा गाउँ झर्ने, आफन्त भेट्ने र आवश्यक सामानहरु लिएर फर्किने गरेको बताउछन ।
गाउँका करिब दुई सय गोठाला रोल्पा, रुकुम र बागलुङको सिमाना तथा उच्च पहाडी क्षेत्रमा जाने गर्छन् । उनीहरु गोठ रिग, खोलाखर्क, तिलचनलगायतका ठाउँमा हुन्छन् । गाई भैँसी गोठालाहरु केही तल्लो भागमा गोठ बनाएर बस्ने गर्छन् भने भेँडाबाख्रा गोठालाहरु चार हजार दुई सय मिटरको उचाइसम्म पुग्ने गर्छन् ।
चरन क्षेत्रका रुपमा निकै प्रख्यात मानिने रिग, खोलाखर्क क्षेत्र वस्तुभाउ बेँसी झर्न थालेसँगै सुनसान बन्न थालेको छ । असोज ५ गतेदेखि दशैँसम्म मध्यपहाडी लोकमार्गको भल्कोट–पातीहाल्ने खण्डमा सयौँ गाई, गोरु, भेडाबाख्रा र भैसीको हुल देखिन्छन् । अघिअघि पशुचौपाया, पछिपछि गोठालाहरुले निकै ठूलो भारीसहित झरिरहेका हुन्छन् ।
उनीहरुले गाईवस्तु बाँध्ने किलो, दाम्लो, लत्ता कपडा, ठेकीलगायतका सामानहरु बोकेका भेटिन्छन् । महिनौँ लेकमा बसेर गाउँमा झर्दै गरेका उनीहरुको अनुहारमा निकै चमक छाएको थियो । महिनौँ परिवारसँग भेट नभएका उनीहरु ५ गते सबैसँग भेटघाट हुने गर्छन् । घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशु चौपाया झार्न जान्छन् ।
असोज ५ गतेभन्दा अगाडि–पछाडि बेँसी झर्दा पुर्खाहरुले बनाएको नियम भत्किने भन्दै सोही दिनै झर्नु पर्ने उनीहरु मान्यता राख्छन् उनले अबको १२ दिन भर्कोबाङमै आफ्ना पशु चौपाया चराउने र त्यसपछि भल्कोट घरमा झार्ने बताए । उनले यहाँ अझै केही दिन वस्तुभाउका लागि घाँस रहेको हुँदा आफू पनि गोठ बनाएर यही बस्ने बताए ।
घर्तीले अबको तीन महिनासम्म बारीकै घाँसले पुग्ने भन्दै त्यसपछि वन जङ्गलमा जानु पर्ने बताए । उनले हिउँद्को समयमा लेकमा हिउँ पर्ने हुँदा बेँसीमै पशु चौपायालाई घाँस काटेर खुवाउनु पर्ने उनको भनाइ छ । बेँसीमा सयौँको सङ्ख्यामा रहेका चौपायाको व्यवस्थापन गर्न निकै गाहे हुने घर्तीकोे भनाइ छ ।
गाउँमा घाँस निकै कम हुने र सबैका पशु गाउँमै हुने हुँदा घाँसको व्यवस्थापनमा निकै समस्या पर्ने उनी बताउछन । यसवर्ष भेँडापालक तमबहादुर विकले असोज ५ गते नै भेँडा बेसी झार्नु भएको छ । उनले अघिल्लो वर्षहरुमा दशैँको दुई दिन अगाडि झर्ने गर्थे । विकले यसवर्ष भेँडा केही भेँडालाई बजारमा लैजाने हिसाबले बेँसी छिटो झारेको बताए ।
बर्खाको समयमा बेँसीमा भेँडाहरु पाल्नै नसकिने हुँदा लेक लैजानु परेको उहाँको अनुभव छ । स्थानीयवासीको सयौँ पशुचौपाया हुने भएकाले गाउँमा घाँस पु¥याउन सकिने अवस्था आएपछि आफूहरु लेक बेँसी गर्नु पर्ने अवस्था भएको उनको भनाइ छ ।
उहाँले खर्बामा गाउँका सबै वस्तुभाउहरु लेक जाने हुँदा बेसीमा घाँस पलाउने र फर्किएपछि केही महिना गाउँमै पाल्न सकिने बताए । विकले पशु चौपायालाई लेकबाट बेँसी झारेपछि लेकमा पनि अर्को पटक जाँदा प्रशस्त घाँस पाइने बताउछन । विकले अब वैशाखसम्म जसोतसो बेँसीमै भेँडाहरु पाल्नु पर्ने बाध्यता रहेको बताए ।
उनले भेँडालाई अबको दुई महिनासम्म गाउँमा प्रसस्त घाँसहरु पाइने भए पनि पुस महिनादेखि लेकमा पुगेर कटुस, खर्सुङलगायतका डालेघाँस काटेर खुवाउने बताए । निसीखोला गाउँपालिका–५ र ६ का अधिकांश स्थानीयवासी पशुपालनतर्फ बढी आकर्षित छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







