बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दो


     एभरेस्ट आवाज    
     असाेज ६ गते २०७९ मा प्रकाशित




इस्लामावाद। पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरुमा डेङ्गुको ज्वरोले धेरै मानिस विरामी परेका बताइएको हो।

यहाँको सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीमा गएको २४ घन्टा यतामात्र यहाँका तीन सय २३ जनालाई डेङ्गु लागेको छ ।यसपछिको प्रभावित क्षेत्र कराँची पनि हो । कराँचीमा मात्र यहाँ गएको २४ घन्टामा दुई सय ६० जनामा यसको संक्रमण देखिएको छ ।

कराँची पनि यस वर्षको मनसुनी वर्षाबाट बढी प्रभावित क्षेत्र हो । सेप्टेम्बर महिनामा मात्र सिन्धमा करिब चार हजार जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसमम छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार बाढी प्रभावित भएर घरबारबिहीन हुन पुगेका नागरिकमा यस्तो प्रकोप देखिएको पाइएको समाचारमा जनाइएको छ ।यहाँको खैबर पाक्थुन्क्वामा पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।